घरमै सुतेको अवस्थामा हात्तीको आक्रमण, दुई घाइते



सिन्धुली : सिन्धुलीमा हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन् ।

दुधौली नगरपालिका–१ गिचियानीमा गए राति हात्तीको आक्रमणबाट अन्दाजी ५० वर्षीय देवु धामी र उनकी श्रीमती अन्दाजी ४१ वर्षीय फुलवती धामी घाइते भएका हुन् । उनीहरुलाई उपचारका लागि डकाहामा रहेको आमा मेमोरियल अस्पतालमा एम्बुलेन्समार्फत पठाइएको स्थानीयवासी तीर्थ बरालले जानकारी दिए ।

घरमै सुतेको अवस्थामा हात्तीले घर भत्काई उनीहरुलाई सुँढले तानेर फाल्दा घाइते भएकी हुन् । देवुको टाउकोमा र फुलवतीको खुट्टामा चोट लागेको छ । यस्तै हात्तीले घर पूर्णरूपमा क्षति गरेको उनले जानकारी दिइन् ।

विगतमा समूहमा आबद्ध भई हात्तीबाट जोगिन र हात्तीको गतिविधि नियाल्ने गरेको भए पनि यस वर्ष कति हात्ती आए भन्नेसमेत थाहा नभएको उनले बताइन् । कोरोनाको त्रासका कारण सबै घरमा बस्नुपर्ने र हात्तीको त्रास बढ्दा आफूहरु दोहोरो त्रासमा रहेको उनले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्