प्रदेश २ मा कोराना रोकथामका लागि सरकारद्धारा २५ करोडको राहत कोष स्थापना



जनकपुरधाम– विश्वव्यापी रुपमा महामारीको रुप लिएको कोराना भाइरसको नियन्त्रण तथा प्रभावित व्यक्तिहरुलाई राहतका लागि प्रदेश २ सरकारले २५ करोड रुपैयाँको राहत कोषको स्थापना गरेको छ ।

मन्त्री परिषदको बिहीवार सम्पन्न बैठकबाट २५ करोड रुपैयाँको राहतकोषको स्थापना गरिएको हो । कोषमा प्रदेशका सबै मन्त्रीहरुको एक महिनाको तलब समेत जम्मा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले बताए ।

मन्त्रीपरिषदको बैठकबाट महामारी नियन्त्रणका लागि मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा सबैजना मन्त्रीहरु रहने गरि उच्च स्तरीय निर्देशन समिति र महामारी नियन्त्रणको लागि आवश्यक व्यवस्थापन गर्न निमित्त प्रमुख सचिव नारायण दवाडीको संयोजकत्वमा सबै मन्त्रालयका सचिवहरु रहने गरि विशेष कार्यकारी समिति समेत गठन गरिएको उनले जानकारी दिए ।

कार्यकारी समितिलाई बिहिवारनै मन्त्री परिषद बैठकबाट विशेष परिस्थितिमा आवश्यक व्यवस्थापन गर्नका लागि चाहिने आवश्यक सामग्री खरिद गर्न निर्देशन समेत दिएको प्रवक्ता यादवले जानकारी दिए । यसका साथै मन्त्री परिषदले प्रादेशिक अस्पताल जनकपुर, विरगंज र राजविराजमा कोरोना सम्बन्धि जाँच गर्ने ल्याबको स्थापना गर्ने निर्णय समेत गरेको प्रवक्ता यादवले जनाए ।

बैठकले लकडाउनका कारण समस्यामा परेका गरिव,विपन्नहरुका लागि आवश्यक राहतको व्यवस्था गर्न स्थानीय तहसंग समन्वय गरेर अघि बढने निर्णय पनि गरिएको छ । मन्त्री यादवले स्थानीय तहहरुलाई गरिव,विपन्नहरुको घर घरमा गई खाद्यान्न सामग्री वितरण गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्