भारतीयलाई नेपाल प्रवेश गर्न नदिएपछि प्रहरीमाथि नै हातपात



वीरगन्ज– पर्साको ग्रामिण भेगको सिमा नजिकै भारतीयलाई नेपाल प्रवेश गर्न नदिएपछि एक समूहले नेपाल प्रहरीमाथि नै हातपात गरेका छन् ।

खुल्ला सिमा नाका भएर प्रबेश गर्न खोज्ने चार पाँचजनाको समूहमा आएका भारतीयहरुले डियुटीमा खटेका प्रहरी चौकी प्रसौनी भाठ्ठाका प्रहरीमाथि हातपात गरेका हुन् ।

बिन्दवासिनी गाउँपालिका वडा नं. ५ प्रसौनी भाठ्ठा स्थित मधुवाको खेतबारीको खुल्ला सिमा भएर ती भारतीयहरु नेपाल प्रबेश गर्न खोजेका थिए ।

‘लकडाउन’ ले सहज रुपमा नेपाल प्रवेश गर्न नपाएपछि खुल्ला सिमानाको मौका उठाउँदै जबर्जस्ती नेपाल प्रबेश गरेका थिए । नेपालमा प्रवेश गरेको देखेपछि प्रहरीले रोक्न खोज्दा उल्टै हातपातमा उत्रेका थिए ।

हातपात गर्ने मध्ये एक जनालाई प्रहरीले पक्राउ गरीसकेको छ । अन्य फरार हुन सफल भएका छन । भारत बिहार पुर्वि चम्पारण कुकुहिया १३ निवासी बर्ष ३५ का अवधेश महतोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र कुमार सिंहले बताए ।

पक्राउ परेकालाई ईलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको उनले बताए । हातपातमा संलग्न हुनेहरु बिहारमा मदिरा निषेध गरिएका कारण नेपालमा प्रवेश गरी मदिरा सेवन गरी आउँने जाने हुन् ।

प्रतिक्रिया दिनुहोस्