लकडाउन अवज्ञा गरेको भन्दै दाइले आफ्नै भाइको हत्या गरे



एजेन्सी : कोरोना भाइरसको रोकथामका लागि विश्वका धेरै मुलुकले लकडाउन गरेका छन्, छिमेकी देश भारतमा पनि ।

लकडाउनले मानिसहरुको सम्बन्धमा पनि असर गर्न थालेका छन् । ठूलो संख्यामा मानिसहरुले रोजगारी गुमाएका छन् । विशेष गरेर मजदुरहरुले धेरै दुःख पाइरहेका छन् ।

यस्तै संकटको भोगिरहँदा भारतमा बुधबार लकडाउनको क्रममा घरबाट निस्किएको भन्दै एक दाइले आफ्नै भाइको हत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मुम्बईको कान्दिवली इस्टमा बस्ने २८ वर्षीय राजेश ठाकुरले आफ्नो २१ वर्षीय भाइ दुर्गेशको हत्या गरेका हुन् ।

बुधबार लकडाउन भएपछि राजेशले उनलाई घरबाट बाहिर ननिस्कन भनेका थिए । तर, दुर्गेश अटेर गर्दै बाहिर निस्केपछि दुईबीच झगडा भएको थियो । यही क्रममा राजेशले दुर्गेशको टाउकोमा भाँडाले प्रहार गर्दा उनी घाइते भएका थिए । उनलाई अस्पताल पु¥याउँदा डाक्टरहरुले मृत घोषित गरेका थिए ।

राजेश मुम्बईमा आफ्नो पत्नीसँग बस्थे भने दुर्गेश पुणेमा वेटरको काम गर्थे । लकडाउनका कारण एक हप्ताअघि दुर्गेशले आफ्नो जागिर गुमाएका थिए । त्यसपछि उनी मुम्बई आएर राजेशसँग बस्न थालेका थिए ।

प्रतिक्रिया दिनुहोस्