चीनबाट नेपाल पठाउने भनिएको कोभिड–१९ परीक्षण कीट बाटोमै रोकियो



काठमाडौँ : विश्वसनीयतामा प्रश्न उठेपछि नेपाल ल्याउन लागिएको चीनमा उत्पादित कोभिड–१९ परीक्षण कीट बाटैमा रोकिएको छ ।

गत बुधबार बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनीले २ हजार जनालाई कोरोना भाईरस (कोभिड–१९) को परिक्षण गर्न मिल्ने कीट नेपाली दूतावासलाई उपलब्ध गराएको थियो । सो किटहरु आईतबार काठमाडौं आईपुग्ने तोकिएको थियो तर शनिबार तिब्बतको ल्हासामा मै रोकिएको छ ।

चीनको नेशनल मेडिकल प्रोडक्सन एडमिनिस्ट्रेसनले उक्त किटहरु निर्यातयोग्य नरहेको भन्दै ल्हासामै रोकिदिएको छ ।

चीनियाँ कीटहरु ३० प्रतिशत विरामीको मात्रै सही पहिचान गर्न सकेको र संक्रमितमध्ये ७० प्रतिशत व्यक्तिमा संक्रमण पत्ता लगाउन नसकेको भन्दै स्पेनले चिनियाँ कीटको प्रयोगमा प्रतिबन्ध लगाएको थियो ।

स्पेन आयात गरिसकेको किटहरु फिर्ता पठाउने निर्णय समेत गरिसकेको छ । यसअघि चीनले चेक रिपब्लिकमा पठाएको किटहरुले पनि सही नतिजा नदिएको पाइएको थियो ।

नेपाल ल्याउन लागिएको सो कीटहरु ल्हासामै रोकिएपछि नेपालमा कोरोना परीक्षण कीटहरुको अभाव हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्