जापानी कमेडियन केन शिमुराको कोरोना संक्रमणका कारण निधन



टोकियो : कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणका कारण जापानी कमेडियन केन शिमुराको निधन भएको छ ।

७० वर्षीय शिमुरालाई कोरोनाको संक्रमणपछि निमोनिया भएको र त्यसैका कारण आइतबार मृत्यु भएको जापानी समाचार संस्था क्योदोले जनाएको छ ।

अस्वस्थ महसुस भएपछि उनी चैत ७ गते (मार्च २०) मा अस्पताल भर्ना भएका थिए । मार्च २३ मा उनको स्वास्थ्य परीक्षण गर्दा निमोनियाले ग्रस्त र कोरोनाभाइरस पोजिटिभ देखिएको जापानी समाचार संस्था क्योदामा उल्लेख छ ।

‘जापानका रोबिन विलियम्स’ का नामले पनि चिनाइने शिमुरा सन् १९७० को दशकबाट आफ्नो कलाकारिता शुरु गरेका थिए । उनी जापानका सबैभन्दा बढी चर्चित कमेडियनमध्येका एक हुन् ।

शिमुराले विभिन्न टेलिभिजन शोहरुमा ‘बाका तोनोसामा’(मुर्ख भगवान्), ‘हेन्ना ओजिसान’(अचम्मका काका)लगायतका निकै मन पराइएका चरित्र निभाएका थिए ।

जापानमा सोमबार बिहानसम्म कोरोनाबाट ५४ जनाको मृत्यु भएको छ भने एक हजार ८ सय ६६ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्