२ महिनालाई पुग्ने पेट्रोलियम मौज्दात



काठमाडाैं : लकडाउनको अवस्थामा पनि अति आवश्यक सवारीसाधनलाई आवश्यक पर्ने दुई महिनालाई पुग्ने पेट्रोलियम पदार्थ मौज्दात रहेको नेपालगञ्जस्थित आयल निगमले जनाएको छ ।

नेपालगञ्जको राँझा स्थित आयल निगमको प्रादेशिक कार्यालयका प्रमुख नवविनोद पोखरेलका अनुसार अहिलेको अवस्थामा सुरक्षा निकायका गाडी, एम्बुलेन्स र अन्य केही अति आवश्यक सवारीसाधनलाई मात्र तेल चाहिने भएकाले दुई महिनालाई पुग्ने तेल नेपालगञ्ज डिपोमा मौज्दात रहेको छ ।

उनले दुई–तीन दिन यता पेट्रोलियम पदार्थ लिनका लागि ट्याङ्क भारत नपठाए पनि नेपालगञ्जस्थित डिपोमा दुई हजार ८०० किलोलिटर डिजेल, ७०० किलो लिटर पेट्रोल र १०० किलोलिटर मट्टीतेल मौज्दात रहेको जनाउँदै सो तेलबाट दुई महिना काम चल्ने बताए । प्रमुख पोखरेलले लकडाउन समाप्त हुने हो भने तेलको माग बढ्ने जनाउँदै सो अवस्था आएमा थप तेल भारतमा तत्काल मगाइने बताए ।

भारतमा भइरहेको लकडाउनका कारण चालकले खानसमेत नपाउने अवस्था आएपछि अहिले नपठाइएको उनको भनाइ छ ।

उनले सोमबार मात्रै बाँके र बर्दियाका लागि २४ हजार लिटर डिजेल र आठ हजार लिटर पेट्रोल विभिन्न पम्पलाई वितरण गरिएको बताए । सोही प्रकारले पश्चिम रुकुमका लागि सोमबार १२ हजार लिटर डिजेल पठाइएको प्रमुख पोखरेलले बताए ।

ग्यासको अभाव हुन नदिन पनि निगम सचेत रहेको जनाउँदै उनले विभिन्न जिल्लामा वितरण गर्ने गरी सोमबार मात्रै बाँकेको मनकामना ग्यास उद्योगलाई दुई हजार ३२० सिलिन्डर, भेरी ग्यास उद्योगलाई तीन हजार ३०२ सिलिन्डर र दाङको राप्ती ग्यास उद्योगलाई ५८० सिलिन्डर ग्यास दिइएको बताए ।

मनकामना ग्यास उद्योगले सुर्खेतमा छ सय, बाँकेमा ४६२, बर्दियामा ३०६, कैलालीमा चार सय र दाङमा ५५२ सिलिन्डर ग्यास पठाउने पर्ने र भेरी ग्यास उद्योगले सुर्खेतमा ५३४, कैलालीमा १८०, कञ्चनपुरमा ३६० र बाँके बर्दियामा दुई हजार २८० थान सिलिन्डर पठाउनु पर्ने निगमको नेपालगञ्जस्थित कार्यालयले जनाएको छ ।

अधिकांश उपभोक्ताले ग्यासको जोहो गरिसकेकोले दुई महिनासम्म ग्यासमा पनि समस्या नआउने सो कार्यालयका प्रमुख पोखरेलले बताए । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्