ब्रिटेनको नयाँ नियम नेपाली विद्यार्थीका लागि कस्तो?


काठमाडौं : दाङका निश्चल रेग्मी स्नातकोत्तर तह अध्ययनका लागि गत फेब्रुअरी महिनामा ब्रिटेन आइपुगे।उनी वेल्सको कार्डिफस्थित एक विश्वविद्यालयका विद्यार्थी हुन्। तर यसै साता ब्रिटिश सरकारले कोरोनाभाइरसको सङ्क्रमणबाट बच्न देशव्यापी ‘लकडाउन’ घोषणा गरेपछि उनी समस्यामा परेका छन्।

“मैले भर्खरै एउटा रेस्टुरेन्टमा काम शुरू गरेको थिएँ, तर अहिले त रेस्टुरेन्ट पनि बन्द भयो, त्यसैले धेरै गाह्रो भइरहेको छ,” रेग्मीले भने। ब्रिटेनकै हडर्सफिल्ड विश्वविद्यालयमा पढ्ने बारा, गढीमाइका विशु सिंहले पनि नेपाली विद्यार्थीहरू लकडाउनका कारण समस्यामा परेको बताए।

“न पढाइ छ, न काम पाइन्छ, नेपाल फर्कौँ भने पनि उडानहरू बन्द छन्, हामी निकै समस्यामा छौँ, उनले भने। नेपाली विद्यार्थीहरू समस्यामा परेको थाहा पाएपछि ब्रिटेनमा बस्ने केही प्रवासी नेपालीहरूले उनीहरूलाई केही महिनाका लागि नि: शुल्क बस्न दिने सन्देश सामाजिक सञ्जालमा राखेका छन्।

तर लण्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता शरदराज आरण अहिलेको समयमा सङ्क्रमणको जोखिमका कारण पनि अर्काको घरमा बस्न जानु उपयुक्त नहुने बताउँछन्।

“अहिले डेरा सर्ने समय होइन, जो जहाँ छौँ त्यहीँ बसौँ,” आरणले भने। दूतावासले युवा विद्यार्थीहरूको समस्या बुझ्न र नेपाली समुदायको समेत साथ लिएर तिनलाई सघाउन एउटा समिति पनि गठन गरेको छ।

सही सूचनाको अभाव

कलेज

कतिपय विद्यार्थीहरू चाहिँ सही सूचनाको अभावमा पनि समस्यामा परेको पाइएको छ।

कार्डिफस्थित एक विश्वविद्यालयका विद्यार्थी रमेश आचार्य (नाम परिवर्तन) का अनुसार उनलाई एक परामर्शदाताले कार्डिफ शहर लण्डनबाट जम्मा २ घण्टा टाढा रहेको र उनले लण्डनमा काम गरेर आफ्नो पढाइ पूरा गर्न सक्ने बताएका थिए।

“तर बसमा कार्डिफबाट लण्डन आउन, जान त आठ घण्टा लाग्ने रहेछ । रेलमा केही छिटो हुँदो रहेछ, तर भाडा महँगो छ,” उनले भने।

ब्रिटिश सरकारले आउँदो २०२१ को ग्रीष्म यामदेखि पढाइ पूरा गरेपछि केही समयका लागि काम गर्न पाउने अनुमति मिल्ने ‘पोस्ट स्टडी वर्क’ भिसा दिने घोषणा गरेपछि उत्साहित भएका कैयौँ विद्यार्थीहरू महँगो शुल्क तिरेर ब्रिटेन आउन थालेका छन्, तर रमेशजस्ता कैयौँ विद्यार्थीहरूले पोस्ट स्टडी वर्क भिसा पाउँछन् वा पाउँदैनन्, निश्चित छैन।

पोस्ट स्टडी वर्क भिसा पाएका विद्यार्थीले ब्रिटेनमा थप २ वर्ष बसेर पूर्णकालीन काम गर्न पाउँछन्।सन् २००८-२००९ मा ब्रिटिश सरकारले भिसा प्रक्रिया खुकुलो बनाइदिएपछि सयौँ नेपाली विद्यार्थीहरू ब्रिटेन आए।

धेरै निजी कलेजहरूमा भर्ना भए। ती मध्ये एक थिइन् बिराटनगरकी पूजा गुरुङ।उनी विद्यार्थी भिसामा आएकी थिइन् भने उनका श्रीमान् ‘डिपेन्डेन्ट’ को रूपमा। शुरूमा पूजा बिजनेस म्यानेजमेन्ट विषय अध्ययन गर्न पश्चिम लण्डनको अलपर्टनस्थित एक कलेजमा भर्ना भइन्।

उनले पूरै दुई वर्षको शुल्क तिरिसकेकी थिइन् तर एक वर्ष पछि कलेज बन्द भयो, उनको शुल्क पनि फिर्ता भएन। त्यसपछि उनी पढ्न माइल एण्डस्थित न्यु भ्याली कलेजमा पुरै शुल्क तिरेर भर्ना भइन्, तर ६ महिना नपुग्दै त्यो कलेज पनि बन्द भयो।

उनले तिरेको रकम फिर्ता पाइनन् । “त्यही बेला म गर्भवती थिएँ, काम गर्न पनि जान सकिनँ, साह्रै दु:ख पाइयो,” पूजाले विगत सम्झँदै भनिन्।

अलपत्र विद्यार्थीहरू

कैयौँ कलेजहरू बीचमै बन्द भएपछि धेरै विद्यार्थी अलपत्र परे।

त्यसपछि ब्रिटिश सरकारले कडाइ गर्दै कलेजहरूले विदेशी विद्यार्थी भर्ना गर्न नपाउने, विश्वविद्यालयले मात्र विदेशी विद्यार्थी भर्ना गर्न पाउने नियम ल्यायो, तर सही सूचनाको अभाव र विद्यार्थी आफै पनि सचेत नभएका कारण समस्या दोहोरिन सक्ने जानकारहरू बताउँछन् ।

“ब्रिटिश सरकारले आउँदो वर्ष गर्मी याममा स्नातक वा स्नातकोत्तर तह पूरा गर्ने विद्यार्थीहरू लाई ‘पोस्ट स्टडी वर्क’ भिसा दिने भने पनि निश्चित तिथिमिति अझै सार्वजनिक गरेको छैन। त्यसैले अनुमानकै भरमा विद्यार्थीहरूलाई आश्वासन दिने काम ठिक होइन,” लण्डनमा कार्यरत एकजना कानुन व्यवसायी एभरेस्ट ल सोलिसिटर्सका प्रिन्सिपल सोलिसिटर राजु थापाले भने।

सन् २००९-१० देखि नै समस्यामा परेका विद्यार्थीहरूलाई कानुनी परामर्श दिँदै आएका सोलिसिटर थापाका अनुसार पीएसडब्लुको अवधि सकिएपछि पनि वर्क परमिट पाउन अरू थप मापदण्डहरू पूरा गर्नु पर्ने हुन्छ ।

“सरकारले तोकेको मापदण्ड पूरा गर्न सकिन्छ कि सकिँदैन, योजना हुनुपर्‍यो। कन्सल्टेन्सीहरूले पनि व्यापारको रूपमा मात्रै हेर्नु भएन, २००९ को जस्तो स्थिति आउन दिनुभएन,” उनले भने।

आँकडामा नेपाली विद्यार्थी

शिक्षा मन्त्रालयका अनुसार आव २०७५/७६ को पहिलो ११ महिनामा ६३ हजारभन्दा बढी नेपाली विद्यार्थीहरूले विदेशमा पढ्न जानका लागि ‘नो अब्जेक्शन’ प्रमाणपत्र लिएका थिए, ती मध्ये अस्ट्रेलियाका लागि त्यस्तो प्रमाणपत्र लिनेहरूको सङ्ख्या झन्डै ६० प्रतिशत थियो।

त्यस्तै दोश्रो, तेश्रो र चौथो स्थानमा जापान, साइप्रस र भारत थिए, तर ब्रिटेन पहिलो १० स्थानमा पनि थिएन। अब भने धेरै नेपाली विद्यार्थीहरू ब्रिटेन आउने अपेक्षा गरिएको छ।

लण्डनस्थित एक शैक्षिक परामर्शदाता बसन्त नेपालले ब्रिटिश सरकारले स्नातक तह उत्तीर्ण गरेका विदेश विद्यार्थीहरूलाई पीएसडब्लु भिसा दिने जनाएपछि त्यसबारे सोधपुछ गर्ने नेपाली तथा भारतीय विद्यार्थीहरूको सङ्ख्या बढेको बताए।

“अस्ट्रेलियाको तुलनामा ब्रिटिश विश्वविद्यालयहरूको गुणस्तर राम्रो छ र बस्न, खान खर्च पनि कम छ। तर कोरोनाभाइरस सङ्क्रमण बढ्दै गयो भने काम पाउन गाह्रो हुन सक्छ,” नेपालले भने।

“ब्रिटिश विश्वविद्यालयहरूलाई युके सरकारले कडा अनुगमन गरिरहेको हुन्छ र यहाँ रहेका सबै शैक्षिक परामर्शदाताले पनि ती नियमहरू पालना गर्नुपर्छ ।”

ब्रिटिश विश्वविद्यालयहरू पनि आफ्ना लागि काम गर्ने एजेन्टहरूले विद्यार्थीलाई गलत सूचना नदिउन् भन्नेबारे आफूहरू सचेत रहेको बताउँछन्।

कडा जाँच

एक लिखित प्रतिक्रियामा युनिभर्सिटी अफ वेस्ट लण्डनकी सञ्चार तथा आयोजन प्रमुख जो लुज्मोरले भनिन्, “हामी हाम्रो विश्वविद्यालयलाई प्रतिनिधित्व गर्ने सबै एजेन्टहरूको विगतको व्यवहारको कडा जाँच गर्दछौँ।

कलेज

उनीहरूले विद्यार्थी भर्ना सम्बन्धमा युके भिसा र आप्रवासन सम्बन्धी सबै आवश्यकताहरू पूरा गर्नुपर्दछ। विश्वविद्यालयले आफ्ना सबै एजेन्टहरूको नजिकैबाट व्यवस्थापन गर्दछ र उनीहरूले उच्चस्तरको व्यवहार गरुन् भन्ने अपेक्षा गर्दछ।”

त्यसो त लाखौँ रकम खर्च गरेर उच्च शिक्षाका लागि आउने विद्यार्थीहरूले विदेश पढ्न जानु अघि पढाइ, त्यहाँको रहनसहन र लाग्ने खर्चबारे आफैँ खोजी गर्नुपर्ने शिक्षाविद्हरू बताउँछन् ।

युनिभर्सिटी कलेज लण्डनका सहप्राध्यापक डा. तेजेन्द्र फेरालीले भने, “हाम्रा विद्यार्थीहरूमा केही पनि अध्ययन नगर्ने, विश्वविद्यालयको वेबसाइट, कोर्स, आप्रवासन सम्बन्धी नियमहरू केही पनि नहेर्ने, कन्सल्टेन्सीले जे भन्यो त्यही विश्वास गर्ने चलन छ।

कन्सल्टेन्सीहरूले पनि विद्यार्थीहरूले सुन्न चाहेको कुरा भन्ने गर्दछन्। कतिपय विद्यार्थीहरू विना कुनै योजना, विना तयारी र राम्रोसँग नबुझेरै आउने गरेको पाइन्छ।”

गुगलमा प्रशस्त सूचना पाइने जमानामा आफू पढ्न जाने मुलुक, विश्वविद्यालय र लाग्ने खर्चबारे जानकारी हासिल गर्दा सम्बन्धित विद्यार्थीलाई नै फाइदा पुग्दछ। त्यसको एक उदाहरण कैलाली घर भएका अनुज देउवा हुन्।

“अस्ट्रेलियामा छात्रवृत्ति पाउन निकै गाह्रो छ, तर मैले २ वर्ष त्यहाँको कलेजमा पढ्दा एक वर्ष छात्रवृत्ति पाएँ । त्यसपछि आफैँ निवेदन दिएर ब्रिटेनको प्रतिष्ठित लण्डन स्कुल अफ इकोनमिक्स एण्ड पलीटिकल साइन्स (एलएसइ) मा एमएस्सी एकाउन्टिङमा भर्ना पाएँ,” अनुजले भने। (एलएसइमा पढाइ पूरा गरेपछि) २४ वर्षीय अनुज अहिले लण्डनमै एउटा प्रतिष्ठित कम्पनीमा काम गर्छन्।

नि:शुल्क सुझाव सल्लाह

ब्रिटेनका विभिन्न विश्वविद्यालयहरूमा अध्ययनरत नेपाली विद्यार्थीहरूको एक संस्था मर्जिङ नेपसक्सले ब्रिटेनमा पढ्न आउने विद्यार्थीहरूलाई कुनै पनि जानकारी चाहिए आफूहरूलाई सम्पर्क गर्न भनेको छ।

“ब्रिटेनका झन्डै ५५ ओटा विश्वविद्यालयहरूमा पढ्ने नेपाली विद्यार्थीहरू हाम्रो संस्थामा आबद्ध छन्। तपाईँहरूलाई कुनै पनि सूचना र जानकारी चाहिएमा हाम्रो फेसबुक पेजमा इनबक्स गर्नु होला, हामी नि:शुल्क सुझाव सल्लाह दिनेछौँ,” मर्जिङ नेपसक्सका अध्यक्ष पवन कँडेलले भने।

उनले ब्रिटेन आउन चाहने र ब्रिटेनमा पढिरहेका विद्यार्थीहरूलाई सहयोग गर्ने उद्देश्यले हेल्प लाइन स्थापना गरिएको पनि जानकारी दिए।

तर कोरोनाभाइरस सङ्क्रमणको खतराका कारण जनजीवन अस्तव्यस्त बनिरहँदा आगामी केही समय ब्रिटेनमा बसिरहेका नेपालीहरू जस्तै नेपाली विद्यार्थीहरूका लागि पनि कठिन हुन सक्ने देखिन्छ। बीबीसी नेपाली


प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

वीरगन्ज– वीरगन्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एक ७० वर्षीय बृद्धको कोरोना संक्रमणका कारण

वीरगञ्ज : नारायणी अस्पतालको आइसोलेसन वार्डबाट सोमबार दुई पत्रकारसहित ४३ जना कोरोना संक्रमित निको भएर

रुकुम पश्चिमः भेरी नदीको किनारमा फेरि एक युवकको शव फेला परेको छ । रुकुम पश्चिमको

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपाल निर्माणको आह्वान गरेका छन् । सोमबार साँझ

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीका कारण रोकिएको एसइई बारे छिट्टै निर्णय हुने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दुई प्रतिशत जनतामा कोरोनाभाइरस (कोभिड–१९)को परीक्षण विस्तार गरिने बताएका

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ४६ हजार ८ सय ३४ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले एकल महिलाको भत्ता कटौती नगर्न सरकारलाई निर्देशन

काठमाडौं: राष्ट्रिय मानव अधिकार आयोगले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको मानव अधिकार संरक्षण गर्न

काठमाडौं : बुढानिलकण्ठ नगरपालिकाका कोरोना संक्रमण देखिएका व्यक्ति ‘निजी एम्बुलेन्स’ सञ्चालक भएको खुलेको छ ।

काठमाडौं : गोकर्णेश्वर नगरपालिका–७ शिवचोकस्थित सात घर सिल गरिएको छ । स्थानेश्वर मार्गमा बस्ने ३५

काठमाडौं : डा. गोविन्द केसीले दार्चुला जिल्लामा दुई दिने सत्याग्रह गर्ने घोषणा गरेका छन्।उनले सोमबार