अमेरिकीहरूलाई आउँदा कठिन दिनका लागि तयार रहन ट्रम्पको आग्रह



एजेन्सी : अमेरिकाले कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्यामा चीनलाई उछिनेको पृष्ठभूमिमा बोल्दै राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकीहरूलाई आगामी दुई साताको समय ‘निकै असहज र चुनौतीपूर्ण हुने’ बताएका छन्।

उनले अमेरिका ‘अहिलेसम्म कहिल्यै सामना नगरिएको परीक्षामा रहेको’ बताएका छन्।

ह्वाइटहाउसले अमेरिकामा महामारीले एक लाखदेखि दुई लाख ४० हजारको बीचमा मानिसहरूको ज्यान लिनसक्ने जनाएको छ।

चीनमा भन्दा धेरैको मृत्यु

विश्वमै सबैभन्दा धेरै सङ्क्रमित रहेको अमेरिकामा अहिलेसम्म तीन हजार छ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन्।

अधिकारीहरूले त्यहाँ तीस दिनको सामाजिक दूरी कायम गर्नेजस्ता कदमले सङ्क्रमितको सङ्ख्या कम गर्ने बताएका छन्।

तर सुरुमा यस भाइरसलाई ‘मौसमी रुघाखोकी’ भन्दै कम आँकेको र ढिलो कदमहरू चालेको भन्दै ट्रम्प आलोचित बन्दै आएका छन्।

ट्रम्पले भने चीनमा भाइरसको सङ्क्रमण सुरु भएदेखि नै आफू यसको क्रूरताबारे सचेत भएको बताएका छन्।

‘आशाको संचार’

पहिलेदेखि नै मानिसहरू नआत्तिउन् भन्ने आफूले चाहेको बताउँदै ट्रम्पले भने: “आशा गरौँ यो महिनाको अन्त्यसम्म यो जानेछ।”

“यस युद्ध जित्न हामी सबैको साझा भूमिका छ।”

ह्वाइटहाउसका कोरोनाभाइरस मामिला हेर्ने संयोजक डा डेबोरा ब्रिक्सले यस सङ्कटबाट पार पाउन ‘कुनै जादुजस्तो खोप वा चिकित्साविधान नरहेको’ बताइन्।

“तर मानिसहरूको व्यवहारमा परिवर्तन ल्याएर आउँदा तीस दिनमा नयाँ मोड दिन सकिन्छ,” उनले भनिन्।

ट्रम्पले यसअघि आफूले बताएको एउटा औलोविरूद्धको उपचारपद्धति कोभिड १९ का लागि संभवत ‘पूर्णपरिवर्तनकारी’ हुनसक्ने भनाइमा पुन: जोड दिएका छन्।

उनले कोरोनाभाइरसविरूद्धको खोपको प्रगति आफूले अधिकारीहरूलाई दैनिक सोध्ने पहिलो प्रश्न रहने गरेको बताए।

नौसेनाद्वारा जीवनरक्षाको आग्रह

लडाकू विमानहरू बोक्ने विश्वको एउटा ठूलो युद्धपोत ‘यूएसएस थियडोर रुजवेल्टका कमाण्डरले भाइरस सङ्क्रमणको जोखिम बढेकोले जहाजमा रहेका चार हजारभन्दा बढी नौसैनिकहरूको जीवनरक्षा गर्न आग्रह गरेको बीबीसीमा उल्लेख छ ।

अमेरिकी नौसेनाको नेतृत्वलाई क्याप्टेन ब्रेट क्रोजिअरले लेखेको चार पृष्ठ लामो एउटा विस्तृत पत्रमा सङ्क्रमणको फैलावटसँग जुझ्नका लागि युद्धपोतमा स्थान अभाव भएको बताइएको छ।

क्रोजिअरले आफ्नो पत्रमा प्रभावित सैनिकहरूलाई पानीजहाजबाट हटाउन र एक्ल्याएर राख्न ‘निर्णायक कदम’को माग गरेका छन्।

क्याप्टेन क्रोजिअरले भनेका छन्: “हामी युद्धमा छैनौँ। त्यसैले नौसैनिकहरू मर्ने अवस्था आउनु हुँदैन।”

हाल उक्त जहाज अहिले प्रशान्त महासागरको पश्चिममा पर्ने अमेरिकी भूभाग ग्वाम टापुमा छ।

विश्वका २०२ देश र भूभागमा फैलिएको कोरोना संक्रमितको संख्या ८ लाख ५८ हजार ८ सय ९२ पुगेको छ । संक्रमितमध्ये १ लाख ७८ हजार १ सय जना उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा ७२ हजार १ सय ७९ नयाँ संक्रमित देखिएका छन् भने सोहि अवधिमा ४ हजार ३ सय ३४ जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये अहिले ६ लाख ३८ हजार ६ सय ३४ जनाको विभिन्न अस्पताल, आइसोलेसन तथा क्वारेन्टाइनमा राखेर उपचार भइरहेको छ । उपचाररतमध्ये ३२ हजार ८ सय ९८ को अवस्था गम्भीर रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

अमेरिकामा कोरोना भाइरस संक्रमित हुनेको संख्या १ लाख ८८ हजार ५ सय ७८ पुगेको छ भने ३ हजार ८ सय ९० जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस्