खेलाडीको तलब धमाधम कटौती



काठमाडाैं : काेरोना भाइरसका कारण युरोपका ठुला फुटबल क्लबले धमाधम खेलाडीको तलब र सुविधामा कटौती गर्न थालेका छन्। आइतबार मात्र इटालियन क्लब युभेन्ट्सले खेलाडीको चार महिनाको तलब कटौती गर्ने निर्णय गरेको छ। युभेन्ट्सले खेलाडीको सहमतिका आधारमा तलबमा कटौती गरेको हो।

क्लबको प्रस्तावलाई खेलाडीले स्वीकार गरेका छन्। यसले क्लबको आर्थिक संकटलाई केही सहयोग मिलेको छ, युभेन्ट्सले विज्ञप्ति जारी गर्दै भनेको छ। सहमतिअनुसार खेलाडीले मार्च, अप्रिल, मे र जुन महिनाको तलब लिने छैनन्। खेलाडीसहित प्रशिक्षक मौरिसियो सार्रीले पनि आफ्नो तलब छाड्न सहमत भएका छन्।

खेलाडी र प्रशिक्षकले चार महिनाको तलब छाड्दा युभेन्ट्सलाई ९० मिलियन युरो राहत मिल्नेछ। युभेन्ट्समा चार महिनाको तलब छाड्दा क्रिस्टियानो रोनाल्डो एक्लैले भन्डै १० मिलियन युरो गुमाउनेछन्। साबिक विजेतासमेत रहेको युभेन्ट्स अहिले पनि लिगको शीर्ष स्थानमा छ। युभेन्ट्सले २६ खेलबाट ६३ अंक बनाएको छ। दोस्रो स्थानमा रहेको लाजियोको ६२ र तेस्रो स्थानमा रहेको इन्टर मिलानको ५४ अंक छ। इन्टरले एक खेल कम खेलेको छ। युरोपमा महामारीको रूप लिएको कोरोनाले अहिले सबैभन्दा बढी समस्या इटालीमा पारेको छ। कोरोनाका कारण लिगलगायत फुटबलका गतिविधि अहिले स्थगित गरिएको छ। यो अवस्था अझै लम्बिन सक्ने देखिएको छ।

यसैगरी युरोपमा कोरोनाको बढ्दो सन्त्रास र फुटबल गतिविधि रोकिएपछि अन्य देशका ठुला क्लबले पनि खेलाडीको तलबमा कटौती गर्ने निर्णय गरेका छन्। स्पेनिस क्लब एट्लेटिको म्याड्रिड, जर्मन क्लब बायर्न म्युनिख र बोरुसिया डर्टमन्डले पनि खेलाडीको तलबमा यसअघि नै कटौती गर्ने निर्णय गरिसकेको छ। बायर्नले खेलाडीको तलबमा २० प्रतिशत कटौती गर्ने निर्णयलाई खेलाडीले सहमति जनाएका छन्।

बार्सिलोनाका खेलाडी सहमत

स्पेनिस क्लब बार्सिलोनाका खेलाडीले पनि तलब कटौती गर्न सहमति जनाएका छन्। कोरोना भाइरसले फुटबललगायत खेलकुदका गतिविधि ठप्प भएपछि बार्सिलोनाले ठूलो आर्थिक संकटमा पर्ने भन्दै खेलाडीको तलबमा ७० प्रतिशतसम्म कटौती गर्ने निर्णय गरेको छ। क्लबको उक्त निर्णयलाई सुरुआतमा बढी पारिश्रमिक पाउने खेलाडीले सहमत जनाएका थिए। तर कम तलब पाउँदै आएका खेलाडीको भने सहमति थिएन।

क्लब पदाधिकारी र खेलाडीको छलफलपछि खेलाडी ७० प्रतिशत तलब कटौती गर्न सहमत भएको बार्सिलोनाले जनाएको छ। खेलाडीले क्लबको आर्थिक संकटलाई मध्यनजर गरी सहयोग गरेको पनि बताइएको छ।

स्पेनि ला लिगाको साविक विजेता बार्सिलोना जारी सिजन पनि शीर्ष स्थानमा छ। बार्सिलोनाले २७ खेलबाट ५८ अंक बनाएको छ। दोस्रो स्थानमा रहेको रियल म्याड्रिड ५६ अंकसहित दोस्रो स्थानमा छ। तेस्रो स्थानमा रहेको सेभिल्लाको ४७ अंक छ। अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्