आदेश उल्लघन गर्ने २ हजार ६७६ गाडी नियन्त्रणमा



काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लघन गर्ने २ हजार ६७६ सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट लकडाउनको समयमा आदेश उल्लघन गर्ने उक्त गाडी नियन्त्रणमा लिएको हो ।

अटेर गरी सवारीसाधन सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिइएको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । नियन्त्रणमा लिएकामध्ये दुई पाङ्ग्रे दुई हजार ४०५ र चारपाङ्ग्रे २७१ रहेका महाशाखाले जनाएको छ ।

घरबाट अनावश्यकरूपमा निस्केका सर्वसाधारणलाई सम्झाइ बुझाइ घरतर्फ नै फर्काइएको बताए । अत्यावश्यक सेवा र अनुमतिपत्र लिएका सवारीसाधन मात्रै चलाउन पाउने नियम कडाइका साथ पालना गर्न लगाइएको महाशाखा प्रमुख ढकालले बताए ।

सरकारले कोरोना भाइरस फैलिन नदिन यही चैत ११ गतेदेखि चैत २५ गतेसम्मका लागि ‘लकडाउन’ गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्