ब्रिटिस एयरवेजले ३६ हजार कर्मचारी निलम्बित गर्ने



काठमाडौं : ब्रिटिस एयरवेजले झण्डै ३६ हजार कर्मचारीलाई निलम्बित गर्ने तयारी गरेको छ ।

कोरोना भाइरसको महामारीका कारण एयरवेजका अधिकांश जहाज ग्राउण्डेड भएका छन् । महामारीका कारण कम्पनीमा परेको आर्थिक भारलाई समाधान गर्नका लागि कर्मचारीलाई तत्कालका लागि निलम्बित गर्ने योजनाबारे कर्मचारी संगठनसँग ब्रिटिस एयरवेजले एक हप्ता भन्दा लामो समयदेखि छलफल गर्दै आएको छ ।

दुई पक्षबिच समग्र सम्झौतामा सहमति भएको तर अझै पनि केही बुँदामा छलफल जारी रहेको छ । चालकदलका सदस्य, ग्राउण्ड स्टाफ, इन्जिनियर तथा केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी मध्ये ८० प्रतिशत निलम्बनमा पर्ने भएका हुन् ।

यसरी निलम्बनमा पर्नेहरुले बेलायत सरकारले कोरोना भाइरसका कारण निलम्बनमा पर्ने कर्मचारीका लागि घोषणा गरेको राहत कोषबाट केही रकम पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्