नेकपा नेतामाथि भएको सांघातिक आक्रमणको नेकपा प्रदेश २ द्वारा भर्त्सना



रौतहट : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ ले पार्टीका रौतहट जिल्ला कमिटी सदस्य रामएकवाल मुखियामाथि भएको सांघातिक आक्रमणको भर्त्सना गर्दै कारवाहीको माग गरेको छ ।
शुक्रबार विहान ११ बजे देवाही गोनाही नगरपालिका–५ टिकुलियामा नेता मुखियासहित ३ जनामाथि सांघातिक आक्रमण भएको थियो र उनीहरू उपचारका लागि काठमाडौं पठाइएको छ । घटनापछि नेकपा प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेलले प्रेस विज्ञपति जारी गर्दै उक्त घटना ज्यान लिने उद्देश्यले भएको भन्दै घटनाका दोषीलाई तुरुन्त गिरफ्तार गरि कारवाही अगाडि बढाउन गृह प्रशासनसंग आग्रह गरेका छन् ।

यता रौतहट क्षेत्र नम्बर ३ का सांसदसमेत रहेका नेता साहले फेसबुकमार्फत भनेका छन्, ‘महामारीको रुपमा रहेक़ो कोरोना भाइरसका कारण निम्तिएको यस महाविपत्तिको घडीमा सबैले आ–आफ़्नो घर भित्र बसी लकडाउनलाई सहयोग गर्नुको सट्टा आज रौतहटको देवाही गोनहि नपा–५ टिकुलिया टोलमा हाम्रो पार्टीका जिल्ला कमिटी सदस्य क. मुखियामाथि सुनियोजित रुपमा दिनको ११ बजे संघातिक आक्रमण भएको छ ।’

उनी थप्दै भनेका छन्–‘उक्त हमलामा परी क. रामएकवालसहित ३ जना गम्भीर घाइतेहरुलाई हाल उपचारका लागी काठमाडौं पठाइएको छ । ज्यान मार्ने उद्देश्यबाट गरिएको यस आपराधिक तथा अमानवीय घटनाको घोर भर्त्सना गर्दै अपराधीहरूलाई तुरुन्त कारवाही गर्न गृह प्रशासनसँग माग गर्दछु । साथै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्