घरायसी विवाद भएपछि श्रीमानले श्रीमतीलाई पेट्रोल छर्केर जिउँदै आगो लगाए



इनरुवा : सुनसरीमा श्रीमानले श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाएका छन् । जिल्लाको सदरमुकाम इनरुवा नगरपालिका ८ डुम्राहाकी २६ वर्षीया कमला कुमारी उराँवलाई २९ वर्षीय श्रीमान सियालाल उराँवले आगजनी गरी गम्भिर घाइते बनाएका हुन् ।

सियालालले श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाउँदा दुई छोरी समेत घाइते भएका छन् । आगोले पोलेर घाइते हुनेहरुमा सियालालकी पत्नी कमलाकुमारी, ८ वर्षीया छोरी प्रतिक्षा र ४ वर्षीया छोरी प्रतिमा रहेको प्रहरी नायव निरीक्षक विनुमाया बस्नेतले जानकारी दिए ।

घरायसी विवादका कारणले चैत २० गते रातिको समयमा पति सियालालले पत्नी कमलालाई शरीरमा पेट्रोल छर्केर आगजनी गरेर गम्भीर घाइते बनाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

घाइते कमलाको इनरुवा अस्पतालमा उपचारका लागि ल्याएकोमा उपचार सम्भव नभएकाले विराटनगर पठाइएको छ ।

घाइते छोरीहरुको इनरुवा अस्पतालमा उपचारपछि अवस्था सामान्य रहेको र घटनालगतै पीडक सियालाल भने फरार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्