वीरगन्ज नगवाका युवाले क्वारेन्टाईनमा रहेका भारतीयलाई गरे सहयोग



वीरगन्ज : कोरोना संक्रमणको शंकास्पदलाई राख्नको लागि वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाईनमा बसेका भारतीयलाई वीरगन्ज नगवाका स्थानिय युवाहरुले एक दिनको भोजनको प्रबन्ध गरेका छन् ।

क्वारेन्टाईनमा रहेका १८० जनालाई स्थानिय युवाहरुले शनिबारको नास्ता देखि लिएर बिहान बेलुकाको दुई छाक भोजनको प्रबन्ध मिलाएको हो । कोरोनाको संक्रमणलाई नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउनमा नेपालको विभिन्न शहरमा बस्दै आएका भारतीयहरु गत मंगलबार घर फर्कन वीरगन्ज आई पुगेका थिए ।

वीरगन्जकै नाका प्रयोग गरेर भारत प्रवेश गर्न खोजेपछि स्थानिय प्रहरी प्रशासनले उनीहरुलाई नियन्त्रणमा लिएर क्वारेन्टाईनमा राखेका हुन् । क्वारेन्टाईनमा स्थानिय प्रशासनले व्यवस्थित रुपमा खानाको प्रबन्ध नगरेपछि यहाँका विभिन्न समाज सेवामा लागेका समूहले दैनिक खानाको प्रबन्ध गर्दै आएको छ ।

नगवाका शिक्षा सेवामा लागेका समाजसेवी अन्जय गुप्ता र अर्का समाजसेवामा लागेका महमद आलमको अगुवाईमा उनीहरुलाई एक दिनको नास्ता र खानाको प्रबन्ध गराएका हुन् । विहान नास्तामा चिया बिस्कुट, दिउँसोको खानामा दालभात, तरकारी र अचारको व्यवस्था मिलाएका थियो, समाजसेवी गुप्ता भने, ‘दिउँसो पनि जुस, बिस्कुटको व्यवस्था मिलाएका थियो र रातिमा भात, तरकारी र अचारको व्यवस्था मिलाएका छौं ।’

नेपाल भारतको सम्बन्ध व्यापारी सम्बन्ध मात्र नभई रोटी बेटीको पनि सम्बन्ध गरेकोले यो सम्बन्धीलाई अझ प्रगाढ बनाउँने र मानव सेवालाई प्रभावकारी बनाउँने उदेश्यले एकदिनको खानाको प्रबन्ध युवाहरु मिलेर गरेको उनले बताए ।

भारत बिहार बेतिया, डवरीयाका मनोज पटेलले चारदिन देखि आफूहरुले पेटभरी खाना नपाएको गुनासो गरे । उनले भने, ‘हामीलाई एउटै कोठामा थुनिएर राखिएको छ, खाना पनि समयमा पाउँदैन, विभिन्न दाताहरुले ल्याएको खाना आधा पेट मात्र खान पाएको हो । हामी मजदुर गर्ने कामदार हौं दिनमा ३ पटक खाना खान्छौं तर यहाँ एउटा सानो प्याकेटमा भात र तरकारी दिन्छन् त्यो पनि थोरै हुन्छ एउटा सानो बच्चाको पेट भर्दैन, हाम्रो पेट के भर्नु’ उनले भने-‘राम्रो बस्ने व्यवस्था नमिलाए पनि कमसे कम पेट भरी खानाको व्यवस्था मिलाई दिनु पथ्र्यो होईन भने हामीलाई आफनो घर जान दिनुपर्यो ४ दिनदेखि आधा पेट खाएर मात्र बसेका छौं तर आजको खानाको व्यवस्था राम्रो मिलाएका कारण पेटभरी खान पाएको छ ।’ बेतिया विशुनपुराकै रहमत मियाँ, भन्छन,‘शुक्रबार दिउँसो सानो प्याकेटमा खिचडी मात्र खान दिएको थियो, रातभरी भोकै बसेका छौं, आज मात्र घरको जस्तो र पेटभरी खाना खान पाएका छौं ।’ तपाईहरु नै आएर हामीलाई खाना उपलब्ध गराई सहयोग गरीदिन आग्रह गरे ।

समाजसेवी गुप्ता र आलमको अगुवाईमा नगवाका स्थानिय युवा तथा ट्राफिक प्रहरीका जवान राजकुमार गुप्ता (राजा), सशस्त्र प्रहरी जवान कुबेर बोहरा, प्रकाश सर्राफ, मन्टु गुप्ता, सोनु सर्राफ, जितेन्द्र चौरसिया, संजय साह, अयुव मियाँ, शेष मईम, सुरेन्द्र सर्राफ, शेष मन्सुर, रहमान मियाँ, श्याम चौरसिया, गुडडु हुसैन लगायतले सक्रिय भुमिका निर्वाह गरेका थिए ।

सरकारले लागु गरेको लकडाउन उलंघन गरी भारत फर्कने क्रममा प्रहरीले भारत तथा नेपाल गरी ४ सय भन्दा बढीलाई वीरगन्जबाट पक्राउ गरेको थियो । ती मध्ये बारा, पर्सा र रौतहटका लाई आफन्त र नातेदारको जिम्मामा प्रहरीले छाडेको थियो ।

बाँकी रहेको १७४ जनालाई क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाईनमा राखिएको छ । उनीहरुलाई क्याम्पसको १७ वटा कोठामा राखिएको छ । खानाको लागि ग्रिन सिटी सामुदायिक केन्द्र आर्दशनगर र रुगंटा वेलफेयरको जिम्मा दिएपनि खानाको राम्रो प्रबन्ध नमिलाएको क्वारेन्टाईनमा बसेका अधिकांशले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्