धनगढीलाई ‘हाइ अलर्ट’मा राखेर ‘लक’ गर्ने तयारी



धनगढी : कैलालीको धनगढीमा कोरोना भाइरस (कोभिड-१९) को ‘लोकल ट्रान्समिसन’ भेटिएपछि उक्त क्षेत्रलाई हाइ अर्लटमा राख्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

मन्त्रालयका विज्ञ सल्लाहाकार डा.खेम कार्कीले धनगढी क्षेत्र दोस्रो चरणमा पुगेकाले अर्लट गरेर लक गर्नुपर्ने बताएका हुन् । उनले भने, “दोस्रो चरणको शुरूआत देखिसकेको अवस्था छ । त्यहाँ अब उच्च सतर्कता नपनाउने हो भने भोलि कोरोना भाइरस (कोभिड–१९) को इपीसेन्टर बन्न सक्ने खतरा छ,लोकल ट्रान्समिसनसहित भारतबाट आएका २ वटा केस पनि भेटिएकाले सुदूरपश्चिम क्षेत्र उच्च जोखिममा रहेको छ ।”

उनका अनुसार दोस्रो चरणपछि त्यसलाई नियन्त्रण गर्न नसकिएमा क्रमश ः समुदायमा संक्रमण सर्ने र पछि महामारीकै रूपमा फैलिन सक्ने उच्च खतरा हुन्छ । लोकल ट्रान्समिसन भएको केसबाट समुदायसम्म पुग्न नदिनकै लागि पूर्ण लक गरेर त्यहाँ परीक्षणको दायरा बढाउनुका साथै क्वारेन्टाइनमा राखेर निगरानी बढाउनुपर्ने देखिन्छ ।

“इम्पोर्टेटबाट लोकल ट्रान्समिसन हुने केस सहजै चिन्न सकिने हुँदा अहिले नै ध्यान दिनुपर्छ”, उनले भने, “कम्युनिटी ट्रान्समिसनमा गयो भने कहाँ कसरी र कोबाट सर्यो भन्ने नै थाहा हुँदैन, त्यसो भएमा झन् कठिन हुन्छ ।” उनका अनुसार बाहिरबाटै संक्रमित भएर आएको व्यक्तिले परिवारको सदस्य र नजिकको सम्पर्कमा रहने व्यक्तिलाई सार्नु भनेको नै लोकल ट्रान्समिसन हो ।

“अहिले एक जनामा मात्रै सरेको छ, अब यतिमा नै नियन्त्रण गरेर राख्न सके राम्रो हुन्छ तर, सर्दै जाने भयो भने समुदाय भरी नै फैलिन सक्छ । यो नफैलिन दिनका लागि लकडाउन अझ कडा पार्नुपर्ने अवस्था देखिन्छ”, उनले भने । उनले लकडाउनको पूर्ण पालना गर्न र सामाजिक दूरी कामय राख्नु जरुरी रहेको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले पनि संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सरेको पहिलो केस भएको भन्दै अझ धेरै सावधानी अपनाउनुपर्ने अवस्था देखिएको बताए ।

“घरभित्रै संक्रमित व्यक्तिबाट अर्कोमा सरेको केस हेर्दा पनि क्वारेन्टाइनमा कति सजगता अपनाइएको छ भन्ने देखिन्छ”, उनले भने,“अझ धेरै सावधानी अपनाउनुपर्ने अवस्था आएको छ ।” धनगढीका ती ३४ वर्षिय युवक कतारबाट भारत, काठमाडौं, नेपालगञ्ज हुँदै सार्वजनिक सवारीमा यात्रा गरेर घर पुगेका हुन् । घरकै सदस्य संक्रमित भएपछि उनले यात्रा गर्दा सम्पर्कमा आएका व्यक्तिहरूमा पनि कोरोना भाइरस (कोभिड-१९) संक्रमण हुने जोखिमसमेत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्