कोरोनाभाइरसबाट बच्न ब्रिटेनका स्वास्थ्यकर्मी प्लास्टिकको सहारा लिँदै



काठमाडौं : कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या लगातार बढ्न थालेपछि ब्रिटेनका अस्पतालहरू सघन उपचार कक्षका शैय्याहरू थप्न दिनरात काम गरिरहेका छन्।

तर एक सघन उपचार कक्ष चिकित्सकले देशमा केही स्वास्थ्यकर्मीहरूले सहयोग र सुरक्षासाधनको अभावमा भोग्नुपरेको नमीठो पक्ष देखाएका छन्। केही स्वास्थ्यकर्मीहरूले उनीहरूको अस्पतालमा देखिएको उपकरण अभावका बारेमा बताएका छन् तर मिडियासँग कुरा नगर्न चेतावनी दिइएका कारण उनीहरू खुल्न सकेका छैनन्।

मिडल्यान्ड्सका एक चिकित्सकले भने यस विषयमा बोल्न चाहिन् र उनको परिचय गोप्य राख्न उनको नाम परिवर्तन गरेको छ।

डा. रोबर्ट्सले बीबीसीसँग कुरा गर्दै कोरोनाभाइरस सङ्क्रमितका कारण भरिएको सघन उपचार कक्ष भएको एक अस्पतालको बारेमा बताइन्। त्यहाँ सबै शल्यक्रियाहरू सारिएको छ भने क्यान्सर क्लिनिक समेत रद्द गरिएको छ। त्यहाँ यथेष्ट कर्मचारी छैनन्, सघन उपचारका लागि शैय्या छैन र सामान्य एन्टिबायोटिक्स् औषधि र भेन्टिलेटरको पनि अभाव छ।

यो सबै कारणका बीच एप्रिलको १४-१५ तिर यूकेका कोरोनाभाइरसको सङ्क्रमण सबैभन्दा उच्चविन्दुमा पुग्ने अनुमान गरिएको छ र अस्पतालका कर्मचारीहरूले त्यसले अहिले नै दबाव महसुस गरिरहेका छन्।

तर डा. रोबर्ट्सले बताएका यी कुनै पनि कुरा त्यति डरलाग्दो छैन जति प्रत्येक दिन १३ घण्टा सिकिस्त बिरामीहरू हेरिरहेका स्वास्थ्यकर्मीहरूले व्यक्तिगत सुरक्षा उपकरण पीपीईको अभावमा प्लास्टिकका फोहोर राख्ने झोला, प्लास्टिकका एप्रन र सापटी लिइएका स्की खेल्ने चस्मा प्रयोग गर्नुपरेको अवस्था बीबीसीले जनाएको छ ।

आमनागरिकहरूलाई दुई मिटरको दूरी राखेर सामाजिक दूरी राख्न अनुरोध गरिएको बेला यूकेका न्याश्नल हेल्थ सर्भिस एनएचएसका कर्मचारीहरूलाई भने कोरोनाभाइरस सङ्क्रमणको आशङ्का लागेका मानिसहरूलाई २० सेन्टिमिटर परबाट जाँच्न भनिएको छ र त्यो पनि बिना सुरक्षा उपकरण।

डा. रोबर्ट्स भन्छिन् आउने दिनको डरमा अस्पतालका कतिपय विभागहरूले भएका पीपीईहरू पनि लुकाउन थालेका छन्।

“कोरोनाभाइरसको सङ्क्रमणको सबैभन्दा जोखिममा रहेका सघन उपचार कक्षका नर्सहरूलाई कुनै सुरक्षा प्रदान नगर्ने टोपी लगाएर काम गर्न भनिएको छ। यो गलत हो। त्यसकारण हामी प्लास्टिकका झोला वा एप्रनले आफ्नो टाउको छोप्न बाध्य छौँ।”

सरकारले वितरण प्रणालीमा कमजोरी भएको स्विकारेको छ र सशस्त्र बलको सहयोगमा राष्ट्रिय वितरण टोलीले स्वास्थ्य उपकरणहरू सबै अस्पतालमा पुर्‍याउन चौबिसै घण्टा काम गरिरहेको बताएको छ।

एनएचएस इङ्गल्यान्डले एप्रल १ मा १० लाखभन्दा बढी मास्क वितरण गरिएको बताएको छ तर त्यो भन्दा बढी आवश्यक पीपीईको बारेमा बोलेको छैन। डा. रोबर्ट्सले अहिलेसम्म आफू काम गर्ने अस्पतालले सरकारबाट केही स्वास्थ्य सुरक्षा सामग्री नपाएको बताइन् र त्यसले तनाव सिर्जना गरेको बताइन्।

“हामीले अहिले प्रयोग गरिरहेका मास्कहरू सबैमा नयाँ म्याद मिति टाँसिएको छ। हिजो एउटामा तीनवटा स्टिकर थियो। पहिलोमा म्यादमा मिति सन् २००९ थियो भने दोस्रोमा सन् २०१४ र सबैभन्दा माथिको सन् २०२१ थियो।”

इङ्गल्यान्डको जनस्वास्थ्य कार्यालयले भने नयाँ म्याद मिति टाँसिएका पीपीईहरू पनि राम्ररी परीक्षण गरी एनएचएसका कर्मचारीले प्रयोग गर्न हुने पाइएपछि दिइएको बताएको छ। तर डा. रोबर्ट्स यसमा पूर्ण विश्वस्त छैनन्।

अहिले उनको निगरानीमा भेन्टिलेटरमा उनका तीन सहकर्मी छन् जो सबैलाई कोरोनाभाइरस सङ्क्रमण भएको छ। तीमध्ये एक सघन उपचार कक्षका चिकित्सक हुन् जो डा. रोबर्ट्स जस्ते पूर्ण सूरक्षाबिना कोभिड वार्डमा खटिएका थिए।

अन्य दुई चाहिँ कोभिड वार्डमा नखटिएका कारण पीपीई नलगाउनेहरू थिए। तर ती दुवैले अस्पतालमा नै सङ्क्रमित भएको हुनसक्ने डा. रोबर्ट्स बताउँछिन्। अस्पतालमा बिरामीका नातेदारहरूलाई आउन दिइएको छैन।

“अहिलेको अवस्थामा सबैभन्दा गाह्रो काम भनेको फोनमा परिवारलाई ‘तपाईँको बिरामी अब धेरै बाँच्दैनन् तर तपाईँलाई उहाँलाई भेट्न दिन सक्दैनौँ ‘ भन्नु हो,” डा. रोबर्ट्स भन्छिन्।

“सामान्यतया बिरामी कुरुवाहरूलाई हामी सकेजति गर्छौँ भन्ने गर्थ्यौँ तर म अहिले त्यो भन्न सक्दिन किनभने अहिलेको अवस्थामा म सक्नेजति गर्न सक्दिन।”

“म अहिले भेन्टिलेटरमा उनीहरूलाई सेवा दिन सक्दिन, म राम्रो नर्सिङ सेवा निश्चित गर्न सक्दिन, किनभने राम्रा नर्सहरू चारतिर तानिएका छन्। हामीसँग एन्टिबायोटिक्स् पनि कम छ र मलाई यो पनि थाहा छैन कि मैले जानेको सबै उपचार उनीहरूलाई सहयोगी हुन्छ।”

एनएचएस इङ्गल्यान्डले अहिलेसम्म कति स्वास्थ्यकर्मीहरू कोरोनाभाइरसको सङ्क्रमणका कारण अस्पताल भर्ना भएका छन् भन्ने तथ्याङ्क नभएको बतायो।

स्पेनमा मार्च २७ मा ९,४०० जना स्वास्थ्यकर्मी सङ्क्रमित भएको र इटलीमा मार्च ३० सम्म ६,४१४ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएको तथ्याङ्क थियो। ब्रिटेनमा केही स्वास्थ्यकर्मीहरूको कोरोनाभाइरसको कारण मृत्यु भइसकेको छ।

“अस्पतालका धेरैजसो कर्मचारीहरू हामी काममा नहुँदा अरू मानिसलाई सङ्क्रमणको जोखिम कम होस् भनेर आफैँलाई एकान्तमा राख्छौँ। तर हाम्रो लागि सबैभन्दा दु:खको कुरा भनेको मानिसहरू बाहिर निस्केको देख्दा हुन्छ। “कृपया तपाईँहरू घरै बस्नुहोस्।”

प्रतिक्रिया दिनुहोस्