राष्ट्रपति डोनाल्ड ट्रम्पले किन मास्क लगाउन अस्वीकार गरे ?



एजेन्सी : अमेरिकी नागरिकलाई नाक र मुख छोप्ने मास्क लगाउन सुझाव दिइएको भए पनि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले चाहिँ मास्क नलगाउने बताएका छन्।

अमेरिकी स्वास्थ्य निकायले मास्क लगाउन दिएको सुझाव आफूले पालना नगर्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन्

उनले ओभल अफिस भनिने आफ्नो कार्यकक्षमा मास्क लगाएर बसेर विभिन्न देशका ‘राष्ट्रपति, प्रधानमन्त्री, तानाशाह, राजा र रानी’ लाई अभिवादन गर्न नसक्ने बताएका हुन्।

विश्वभरि फैलिएको कोरोनाभाइरस सङ्क्रमणबाट अमेरिकामा अहिले धेरै प्रभावित भएको छ। त्यहाँ सङ्क्रमित व्यक्तिको सङ्ख्या अरू देशको भन्दा सर्वाधिक छ।

स्वैच्छिक
उनले शुक्रवारदेखि अमेरिकामा लागू भएको निर्देशन स्वैच्छिक भएकोले त्यो बाध्यकारी नभएको तर्क गरे।

‘तपाईंले मास्क लगाउनैपर्छ भन्ने छैन, ट्रम्पले भने। म मास्क लगाएर बस्न सकौँला जस्तो मलाई लाग्दैन।’

बीबीसीकी ह्वाइट हाउस संवाददाता टारा मकेल्भी भन्छिन् ( अहिलेको महामारीको बेला ट्रम्पले मास्क लगाउलान् कि नलगाउलान् भन्ने विषयमा पत्रकारहरूले विशेष चासो राखेका थिए।

न्यूयोर्कमा धेरै बिरामीको मृत्यु भइसकेको छ । मकेल्भीले ट्रम्पले मास्क लगाउन नचाहनुको कारणबारे सोध्दा ट्रम्प मुस्कुराएका थिए।

ट्रम्पको परीक्षण
‘मेरो भर्खरै परीक्षण भएको छ,’ ट्रम्पले भने। ‘मलाई लाग्छ मभित्र त्यो भाइरस छैन। त्यसैले त्यो फैलिनेबारे मैले चिन्ता गरिरहनुपर्दैन।’

अमेरिकामा कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गर्दा राष्ट्रपति डोनल्ड ट्रम्पकै सल्लाहमा त्यहाँको रोग नियन्त्रण तथा रोकथाम निकायले मास्क लगाउने सन्दर्भमा नयाँ स्वास्थ्य निर्देशन जारी गरेको हो।

अमेरिकामा एकै दिनमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या १,३०० पुगेको छ। त्यो विश्वमै २४ घण्टाको अवधिमा अहिलेसम्म अभिलेख राखिएको सर्वोच्च मृत्युदर हो।

कोभिड–१९ का कारण न्यूयोर्क राज्य अतिप्रभावित रहेको छ।

त्यहाँका प्रमुख प्रशासकले देशका अन्य भूभागबाट सहयोगका लागि अनुरोध गरेका छन्। उनका अनुसार न्यूयोर्कमा अहिलेसम्म झन्डै ३,००० बिरामीको ज्यान गइसकेको छ।

अमेरिकामा अहिलेसम्म २७८,४५८ जनामा सङ्क्रमण भेटिएको र ७,००० बढी मानिसको मृत्यु भइसकेको जोन्स होप्किन्स विश्वविद्यालको तथ्याङ्कले देखाएको छ।

प्रतिक्रिया दिनुहोस्