बुहारीको हत्या आरोपमा ससुरासहित पाँच जना पक्राउ



वीरगन्ज : बुहारीको हत्या गरेको आरोपमा सासुससुरा र कान्छी बुहारीसहित ५ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर–८ रामनगरी टोल बस्ने २५ वर्षीया उर्मीला देवी पण्डितको हत्या गरेको अभियोगमा सासुससुरासहित पाँचलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

प्रहरीले उर्मिलाका ससुरा ६० वर्षीय सुरेश पण्डित, सासू ५५ वर्षीया फूलकुमारी देवी र देउरानी २३ वर्षीया मालती देवी र अर्का दुईजनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । शनिबार बिहान उर्मिलाको हत्या गरी जलाउँदै गरेको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय पोखरीयाबाट गएको प्रहरी टोलीले आधी जलेको शव नियन्त्रणमा लिएको थियो ।

उर्मिलाको परपुरुषसँग अनैतिक सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतक उर्मिलाको शव जलाई रहेको अवस्थामा विशेष सूचनाको आधारमा घटना स्थपल पुगेको प्रहरीले जल्दै गरेको अवस्थामा शवसहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुले उर्मिलाको हत्या गरेर शव जलाई रहेका थिए, ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चन्द्र सिंहले भने, ‘हामीलाई सूचना पाउँन साथ घटना स्थलमा पुगेर जलेको शरीरको केही भाग संकलन गरेर परीक्षणका लागि वीरगन्जको नारायणी अस्पतालमा पठाएका छौं ।’

पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान गर्ने काम उनले बताए । मृतक उर्मिलाका श्रीमान् उपेन्द्र पण्डित वैदेशिक रोजगारको शिलशिलामा विदेश रहेका छन् । बारा जिल्लाको विश्रमपुर गाउँपालिकाको चिलझपट्टी रहेको छ । उर्मिलाका तीन नाबालिक छोरी पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्