विहारका मुख्यमन्त्री नितिशलाई लक्षित गरेर चप्पल प्रहार



जनकपुरधाम : पटना-विहारका मुख्यमन्त्री नितिश कुमारलाई लक्षित गरेर एक युवकले चप्पल प्रहार गरेका छन् । आफ्नै पार्टीको विद्यार्थी संगठनको कार्यक्रममा सहभागी हुन पटनास्थित सभाघर पुगेका नितिशलाई लक्षित गरी चप्पल प्रहार गरिएको हो ।

 

चप्पल प्रहार गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नितिशको पार्टी जदयू आवद्ध विद्यार्थीहरुको भेला बोलाइएको थियो । उक्त भेलामा विहारका सबै जिल्लाबाट ठुलो संख्यामा विद्यार्थीहरु जम्मा भएका थिए ।

 

कार्यक्रम चलिरहेकै बेला एक युवकले मञ्चमा बसेको मुख्यमन्त्री नितिशलाई लक्षित गरेर चप्पल फ्यालेको बताइएको छ । यद्यपी युवकले फ्यालेको चप्पल नितिशसम्म नपुगेर मञ्च मुनी झरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन ।

 

नितिशमाथि चप्पल फ्यालिएको यो पहिलो घटना होइन । यसअघि सन् २०१६ मा विहारको बख्तियारपुरमा कार्यक्रममा सहभागी हुन पुगेकोबेला एक युवकले नितिशलाई लक्षित गरी मञ्चमा जुत्ता प्रहार गरेका थिए ।

 

भारतको गुजरातमा विहारसहित उत्तर भारतीयहरुमाथि पछिल्लो दिनमा आक्रमण हुँदै आएको छ । गुजरातका स्थानीयहरुले उत्तर भारतीयहरुलाई गुजरात छोड्न उर्दी जारी गरेका छन् । कामगर्न  गुजरात पुगेका विहारका नागरिकमाथि निरन्तर आक्रमण भइरहँदा पनि मुख्यमन्त्री नितिशले केहि बोल्न नसकेको भन्दै विहारमा उनीविरुद्ध आक्रोश बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्