खाद्य संस्थानद्वारा खसीबोका तथा च्याङ्ग्रा बिक्री सुरु, मूल्य कति ?



काठमाडौं : सरकारले शुक्रबारदेखि काठमाडौँ उपत्यकामा खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण शुरु गर्ने भएको छ ।

 

नेपाल खाद्य संस्थानको थापाथलीस्थित धान गोदामबाट ती खसी, बोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्न लागेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए । 

 

उनका अनुसार बिहीबार साँझसम्म १८० खसी बोका तथा ४०० च्याङ्ग्रा काठमाडौँ ल्याइसकिएको छ । सरकारले दशैँलाई लक्षित गरेर मुस्ताङबाट एक हजार च्याङ्ग्रा खरिद गरी ल्याउने लक्ष्य राखिए पनि करीब ९०० च्याङ्ग्रा ल्याइने उनले बताए । 

 

दाङलगायत पश्चिमी जिल्लाबाट खसीबोका ल्याउने तयारी गरे पनि त्यहाँका व्यापारीले कुनै चासो नदेखाएपछि मकवानपुर र पर्साबाट खसीबोका खरिद गरी ल्याइएको महानिर्देशक गौचनले बताए । उनले भने, “दाङबाट खसीबोका ल्याउन नसकिएपछि मकवानपुर र पर्साबाट लक्ष्यभन्दा आधा करीब ५१० खसी बोकामात्र खरिद गरिएको छ ।”

 

राजधानी ल्याइएका ४०० च्याङ्ग्रामध्ये दुई वटा च्याङ्ग्रा बिरामी परेका छन् । बिरामी परेका च्याङ्ग्रालाई छुट्टै राखेर पशु चिकित्सकले उपचार गरिरहेको महानिर्देशक गौचनले जानकारी दिए । 

 

व्यापारीले चर्को मूल्य लिएर खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्दा उपभोक्ता ठगीमा पर्ने गरेका छन् । व्यापारीको एकाधिकार अन्त्य गर्दै बजारलाई हस्तक्षेप गर्न सरकारले वर्षेनी दशैँका बेला राजधानीमा सहुलियत मूल्यमा खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएको छ ।

 

यसैबीच सरकारले खसीबोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ । विभागका महानिर्देशक गौचनले च्याङ्ग्रा प्रतिकिलो ७१० र खसीबोका प्रतिकिलो ५१० मा बिक्री गरिने जानकारी दिए ।

 

सरकारले बिक्री गर्ने खसीबोका र च्याङ्ग्रा खरिद गर्दा उपभोक्ताले प्रतिकिलो रु १० छुट पाउने उनले बताए । त्यस्तै एक जनाले एउटा मात्र खसीबोका तथा च्याङ्ग्रा खरिद गर्न पाउने उनकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्