कोरोनाले जापानमा ४ लाखभन्दा धेरैको ज्यान जान सक्ने



एजेन्सी : जापानमा कोरोना भाइरसको महामारीले ४ लाखभन्दा धेरैको ज्यान जान सक्ने देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक नगरेको प्रक्षेपणले देखाएको भन्दै जापानी सञ्चारमाध्यमहरुले बुधवार समाचार छापेका छन् । कोरोना भाइरस संक्रमतिको समूह पहिचान गर्न मन्त्रालयले गठन गरेको कार्यदलले बुधवार यस्तो चेतावनी दिएको समाचारमा बताइएको छ ।

संक्रमण रोकथामको उपायहरु नल्याउने हो भने कोभिड–१९ का कारण ४ लाख २० हजार मर्ने सो कार्यदलले गरेको सिमुलेशनले देखाएको हो । सिमुलेशनअनुसार ८ लाख ५० हजारभन्दा धेरैलाई भेन्टिलेटरको आवश्यकता पर्ने छ ।

जापानले संक्रमणका लक्षण देखिएको मानिसहरुको मात्रै परीक्षण गरिरहेको छ । अहिलेसम्म त्यहाँ संक्रमितको संख्या ९ हजार माथि पुगेको छ भने करीब २०० जनाको मृत्यु भएको छ ।

सरकारले आपतकाल घोषणा गरेको टोकियो र ओसाका लगायत अन्य ६ प्रिफेक्चरमा संक्रमण तीव्र गतिमा बढिरहेको छ ।

मानिसहरुबीचको सम्पर्क कम गर्न सरकारले आम जनता र व्यवसायहरुलाई आग्रह गरिरहेको छ । तर अन्य देशमा जस्तो अनुपालना नगर्नेलाई दण्ड वा जरिवानाको व्यवस्था नभएकोले अपेक्षा गरेअनुरुपको सम्पर्क कम हुन सकेको छैन ।

यस्तो अवस्थामा रोकथाम र निदानका थप उपायहरु ल्याउन र मानवसँग मानवको सम्पर्क कम गर्नु पर्नेमा कार्यदलले जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्