किन रोक्यो चीनले मेकङ नदीको पानी ?



एजेन्सी : चीनले मेकङ नदीको पानी रोकेको छ । नदीमा बनाइएको ड्याममा औसतभन्दा धेरै हुँदासमेत पानी रोकेको सेटलाइट डेटाले देखाएको आइज अन अर्थ इंक नामक अनुसन्धान तथा परामर्शदाता कम्पनीले गरेको अध्ययन प्रतिवेदनमा भनिएको छ ।

चीनले अहिलेसम्म मेकङ नदीको बहाव क्षेत्र भएका अन्य देशहरुसँग कुनै औपचारिक जल सम्झौता गरेको छैन । त्यसैले उसले सीमित सूचना मात्रै दिने गरेको छ ।चीनले माथिल्लो मेकङमा रहेको २ ओटा स्टेशनको मात्रै बाढीको मौसमको पानीको स्तर र वर्षाको डेटा उपलब्ध गराएको बताइएको छ ।

सुक्खा मौसमको डेटा लिने प्रयास भइरहेको भएपनि यसबारे उसँग कुनै सम्झौता नभएको अन्तर सरकारी नियाक मेकङ नदी आयोग (एमआरसी) ले बताएको छ । एमआरसीमा लाओस, थाइल्याण्ड, क्याम्बोडिया र भियतनाम छन् ।

मेकङलाई दक्षिण पूर्वी एशियाली देशको जलधारा भनिन्छ । यी क्षेत्रका लाखौं करोडौं कृषक र मछुवाराहरुको जीविका यही नदिको पानीमा निर्भर छ ।

पानी रोकेकै कारण सुक्खा भएको भन्ने चाँही प्रमाणित नभएको अध्ययनमा भनिएको छ ।

तर सुक्खायाममा चीनले नदीको पानी ड्याममै रोकेको र यसका कारण सुक्खाग्रस्त भएको भन्दै लाओस, थाइल्याण्ड, क्याम्बोडिया र भियतनामले गुनासो गरेका छन् । चीनको उक्त कदमको विरुद्धमा यी देशका किसान र मछुवाराहरु विरोध प्रदर्शनमै उत्रिएका थिए ।

सरकारी स्तरबाट पनि चीनबाट यसबारे थप जानकारी मागिएको बताइएको छ । मेकङ नदीमा पानीको स्तर यी देशको चीनसँगको सम्बन्धमा संवेदनशील विषय बन्दै आएको छ । वर्षामा धेरै पानी छाडिदिने तर सुक्खामा पानी रोकेर नदीमा निर्भरलाई बाँच्नु न मर्नु बनाउने गरेको आरोपसमेत चीनमाथि लाग्दै आएको छ ।

यसबारे न्यूयोर्क टाइम्स लगायत सञ्चार माध्यमहरुले समेत समाचार छापेका थिए । बुधवार थाइल्याण्डमा मेकङ ड्याम बन्द गर भन्ने ह्याशट्याग ट्विटरमा ट्रेन्डिङ बनेको थियो । चीनले मेकङ नदीमा नियन्त्रण गर्दै आएको आरोप अमेरिकाले पनि लगाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्