कोरोनाको धक्का गुगलसम्म, कर्मचारी भर्ना अन्योल



एजेन्सी : अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी गुगल इंकको मातृ कम्पनी अल्फाबेट इंकले यस वर्षको बाँकी अवधिमा कर्मचारी भर्ती कम गर्ने भएको छ ।

कोभिड–१९ महामारीका कारण कम्पनीको विज्ञापन व्यवसाय चौपट भएपछि कम्पनीले यस्तो अप्रत्याशित कदम चालेको हो ।

अल्फाबेटका प्रमुख कार्यकारी अधिकृत सन्दर पिचाइले बुधवार यो निर्णय बारे कर्मचारीहरुलाई इमेलमा जानकारी गराएका छन् । इमेलअनुसार कम्पनीले सन् २०२० मा रणनीतिक क्षेत्रमा मात्रै सानो संख्यामा कर्मचारी भर्ती गर्नेछ ।

कम्पनीले अन्य क्षेत्रमा खर्च कटौती पनि गर्ने बताइएको छ । कम्पनीले डेटा सेन्टर र यन्त्र लगायत क्षेत्रमा ध्यान लगानीको गति सुस्त बनाउने भएको छ भने व्यवसाय बाहेकका अन्य गैर–अत्यावश्यक मार्केटिङ र यात्रामा समेत कटौती गर्दैछ ।

अमेरिकी बहुराष्ट्रिय सफ्टवेयर कम्पनी माइक्रोसप्mट कर्पोरेशनले पनि हालै कर्मचारी भर्ती रोकेको छ । गुगलले सन् २००९ को विश्वव्यापी संकटको बेलामा पनि केही कर्मचारीलाई कामबाट निकालेको थियो । तर हालैका वर्षहरुमा भने यसले भटाभट कर्मचारी भर्ती गरिरहेको छ ।

गत वर्ष मात्रै कम्पनीमा २० हजारभन्दा धेरै कर्मचारी थपिएको थियो । अहिले कम्पनीमा करीब १ लाख १९ हजार फूल टाइम कर्मचारी छन् ।

कोरोना भाइरसको महामारीका कारण स्टार्ट–अप कम्पनीहरुले धमाधम कर्मचारीलाई कामबाट निकालिरहेका छन् । कम्पनीको पछिल्लो निर्णयले भने महामारीले गुगल जस्तो धनी प्रविधि कम्पनीलाई समेत धक्का लागेको स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्