चीनमा सुरु भयो दोस्रो चरणको कोरोनाविरुद्धको खोप परिक्षण



एजेन्सी : चीनले कोरोना भाइरस विरुद्ध लड्न सघाउने खोपको दोस्रो चरणको परिक्षण थालेको छ । त्यहाँको सेना माताहतको अनुसन्धान संस्थाले मानवमा सो खोपको दोस्रो चरणको क्लिनिकल परिक्षण गरेको हो ।

चीनले अहिलेसम्म क्लिनिकल परीक्षणका लागि कोभिड–१९ विरोधी तीन ओटा खोपलाई अनुमति दिएको विज्ञान तथा प्रविधि मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै सरकारी समाचार संस्था सिन्हवाले बताएको छ ।

सेनाको इन्ष्टिच्यूट अफ मिलिटरी मेडिशिनमा मेजर जनरल छेन वेई नेतृत्वको टोलीले विकास गरेको खोप भने क्लिनिकल परिक्षणमा जाने अनुमति पाएको पहिलो खोप हो ।

खोपको पहिलो चरणको क्लिनिकल परीक्षण मार्चको अन्त्यमा सकिएको थियो । दोस्रो चरण भने अप्रिल १२ देखि शुरु भएको छ । दोस्रो चरणको क्लिनिकल परिक्षणमा प्रवेश गर्ने यो कोभिड–१९ विरोधी पहिलो खोप हो । यो परिक्षणमा ५०० स्वयमसेवकहरु समावेश भएका छन् ।

सबैभन्दा वृद्ध सहभागी वुहानका ८४ वर्षिय बासिन्दा सियोङ चेङसिङ हुन् । उनमाथिको खोप परिक्षण सोमवार नै भइसकेको छ । खोप जेनेटिङ इञ्जिनीयरिङ पद्दतिबाट बनाइएको र नोभल कोरोना भाइरसको संक्रमणबाट लाग्ने रोग रोक्न प्रयोग गरिने चीनको सरकारी दैनिक पत्रिका चाइना डेलीले सोमवार एक समाचारमा भनेको थियो ।

खोपको पहिलो चरणको क्लिनिकल परिक्षणमा सुरक्षाबारे ध्यान दिइएको थियो भने दोस्रो चरणमा भने यसको प्रभावकारिता हेरिनेछ ।

पहिलो चरणमा थोरैलाई मात्रै सहभागी गराइएको भएपनि दोस्रो चरणमा भने धेरै जनालाई सहभागी गराइएको छ । यसमा ‘प्लेसेबो’ नियन्त्रण समूह पनि अपनाइएको छ ।

पछिल्लो समय विश्वभर कसले पहिला कोरोना विरोधी खोप बनाउने भन्ने होडबाजी चलेको छ । अमेरिकी अनुसन्धाताहरुले मार्चमा नै मानवमा खोपको परीक्षण शुरु गरेपछि चीनले खोपलाई अन्तिम रुप दिने प्रक्रिया तीव्र पारेको थियो ।

कोभिड–१९ को प्रसार पूर्ण रुपमा रोक्न सुरक्षित र प्रभावकारी खोप चाहिने विश्व स्वास्थ्य संगठनले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्