सामाजिक संजाल मार्फत विद्यालय भर्ना अभियान शुरु



मेलम्ची: नयाँ शैक्षिकसत्रका लागि पाँचपोखरी थाङ्पाल गाउँपालिकाका सबै सामुदायिक विद्यालयले गत आइतबारदेखि भर्ना शुरु गरेका छन् ।

सामाजिक संजाल, फोन तथा म्यासेञ्जरबाट नयाँ भर्ना लिन शुरु गरिएकोे गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए । २ हप्ताअघि गाउँपालिकाका सबै सामुदायिक विद्यालयले अनलाइनबाटै कक्ष १ देखि ९ सम्मको परीक्षाफल प्रकाशित गरिसकेका थिए ।

“अहिले भर्ना भएका विद्यार्थीलाई वडाध्यक्षको समन्वयमा विद्यार्थीको घर घरमा पुगेर उनीहरुलाई किताब र पोशाक पुर्याउनुपर्ने भएकाले भर्ना अभियान शुरु गरिएको हो”, उनले भने ।

यसअघि बसेको पाँचपोखरी थाङ्पाल गाउँपालिका शिक्षा समितिको बैठकमा कोभिड-१९ को जोखिमलाई मध्यनजर गरी सम्बधित वडाका वडा अध्यक्षसँग समन्वय गरी विद्यालयले भर्ना अभियान शुरु गर्ने निर्णय भएको थियो ।

सो जोखिमबाट बच्न सामाजिक दूरी कायम गरी नियमित विद्यालय प्रशासन संचालन भइरहेको छ । हाल सो गाउँपालिकामा २९ वटा सामुदायिक विद्यालय छन् भने झण्डै तीन हजार विद्यार्थी अध्ययनरत रहेको छन् । रासस

प्रतिक्रिया दिनुहोस्