पाल्पाका शैक्षिक गतिविधिमा सूचना प्रविधि



पाल्पा: कोभिड -१९ को संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनसँंगै नियमित कार्यक्रम स्थगन गरी बिदा गरिएका पाल्पाका शैक्षिक संस्थाले सूचना प्रविधिको प्रयोग गरी नतिजा सार्वजनिक गर्न शुरु गरेका छन् ।

सो अनुसार माथागढी गाउँपालिकाको सराइस्थित दिव्यज्योति नमूना माध्यमिक विद्यालय र तानसेनस्थित दमकडा नमूना माध्यमिक विद्यालयले भिडियो लाइभ तथा वेबसाइटमार्फत २०७६ सालको वार्षिक परीक्षाफल प्रकाशन गरेका छन् ।

लकडाउनका कारण शैक्षिक गतिविधि बन्द भएका अवस्थामा माथिल्लो कक्षाको पढाइलाई केही सहज हुने उद्देश्यले इन्टरनेटको प्रयोगबाट नतिजा सार्वजनिक गरिएको दिव्यज्योति माविका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले जानकारी दिए । करीब एक हजार विद्यार्थी रहेको उक्त विद्यालयले घरमै बसेर नतिजा प्रकाशन गरेपछि अभिभावक खुशी छन् ।

त्यस्तै तानसेनको देववाणी संस्कृत तथा साधारण माविले मोबाइल एप्स प्रयोग गरी नतिजा प्रकाशन गरेको प्रधानाध्यापक कृष्णबहादुर थापाको भनाइ छ । दमकडा नमूना माविले पनि जिल्लामा पहिलोपटक वेबसाइट र फेसबुकमा प्रत्यक्ष प्रसारणमार्फत नतिजा प्रकाशन गरेको अध्यक्ष राजेशकुमार अर्यालले बताए ।

विद्यालयमा रहेको कम्प्युटर प्रयोगशालालाई डिजिटल स्टुडियोका रुपमा प्रयोग गरेर इन्टरनेटमार्फत नतिजा प्रकाशन गरिएको हो । कोरोना भाइरसको संक्रमण फैलिन नदिन विद्यालय बन्द हुँदा विद्यार्थी घरमा रहेकाले कक्षा उत्तीर्ण विद्यार्थीले माथिल्लो कक्षाको पाठ्यपुस्तक स्वअध्ययन गर्न तथा घरायसी सीप सिक्न सक्ने शिक्षक इन्द्रराज श्रेष्ठको भनाइ छ ।

जिल्लाका माथागढी, बगनासकाली र रम्भा गाउँपालिकाले समेत पालिकास्तरबाट नतिजा प्रकाशन गरेको शिक्षा विकास तथा समन्वय एकाइका शाखा अधिकृत बिष्णु वेलबासेले जानकारी दिए । रम्भाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले कक्षा ८ को परीक्षाफल गाउँपालिका तथा अन्य विद्यालयले वेबसाइट र फेसबुक पेजमार्फत सार्वजनिक गरेको बताए ।

यस्तै जिल्लाको पूर्वी व्यापारिक केन्द्र रामपुर नगरपालिकाका केही सामुदायिक विद्यालयले घरघरमै नतिजा प्रकाशनका लागि तयार गरेर फेसबुक र विद्यालयका पेजमार्फत सार्वजनिक गरेका छन् । रामपुरको रामतुलसी माध्यमिक विद्यालयमा फेसबुक हेर्न नजान्ने अभिभावक तथा विद्यार्थीलाई फोनमार्फत नतिजा सुनाइएको विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले बताउनुभयो । रामपुर क्षेत्रका अन्य विद्यालयले पनि यसैगरी नतिजा सार्वजनिक गर्ने तयारी भएको जनाएका छन् ।

नतिजा सार्वजनिक भएका विद्यालयका विद्यार्थी अघिल्लो कक्षाका दाइदिदीका किताब खोज्न व्यस्त छन् । लकडाउनका अवसरमा रामपुर नगरपालिकाको सहयोगमा पृथ्वी टेलिभिजन र तानसेन नगरपालिकाको सहयोगमा सामुदायिक रेडियो मदन पोखराले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीलाई पढाएर धेरै राम्रो गरेको शिक्षा विकास तथा समन्वय एकाइ पाल्पाका बेलबासे बताउ छन् ।

यससँगै रेडियो मुक्तिनाथ र रेडियो रामपुरले पनि सोही पढाइलाई निरन्तरता दिएका छन् । युनिक एफएमले पनि कक्षा ११ र १२ लाई लक्ष्य गरेर पढाउने व्यवस्था मिलाएको छ । पाल्पाका ४९३ विद्यालयमा ७१ हजार ८४३ विद्यार्थी अध्ययनरत छन् । रासस

प्रतिक्रिया दिनुहोस्