बिहारकुण्डस्थित सिया रघुवर कुञ्जमा पनि जानकी नवमी पूजापाठमै सिमित



जनकपुरधाम: धार्मिक नगरीको रुपमा विश्वभरी प्रख्यात रहेको जनकपुरधामको जानकी मन्दिर लगायत सबै मन्दिरहरु आजका दिन झकिझकाउ हुन्थ्यो । कारण जानकी नवमी । तर यस बर्ष भने इतिहासमा पहिलो पटक होला जहाँ सबै मन्दिरहरु सुनसान छन् ।

जनकपुरधाममा विगत देखि नै प्रत्येक वर्ष धुमधामका साथ मनाइँदै आएको जानकी नवमीमा यस वर्ष कोरोना महामारीका कारण कुनै पनि धार्मिक स्थलहरुमा विशेष उत्सव देखिएको छैन । विश्वभरी कोरोना भाइरसको महामारी फैलिएका कारण नेपाल सरकारले लकडाउन गरेपछि जानकी नवमी उत्सवमा समेत यसको असर परेको छ ।

लकडाउनको पालना गर्दै जानकी नवमीको अवसरमा यस वर्ष कुनै प्रकारको उत्सव नगरिएको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-८ बिहारकुण्डस्थित सिया रघुवर कुञ्जका महन्थ रामकिशोर शरणले बताए । उत्सवकै समयमा कोरोना महामारीको त्रास रहेकाले नेपाल सरकारले गरेको लकडाउनको पालन गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको उनले बताए ।

प्रत्येक वर्ष बैशाख शुक्ल नवमीका दिन मनाइँदै आएको जानकी जन्मोत्सवका दिन यस मन्दिरमा भव्य कार्यक्रमको आयोजना हुँदै आएको थियो । यस वर्ष मन्दिर भित्रै जानकी जन्मोत्सवको अवसरमा पूजा आराधना गरिएको महन्थ शरणले बताए ।

उनले भने,‘यस बर्ष हामीले अयोध्याबाट जगतगुरु राघवाचार्य जीलाई बोलाएर भक्तमाल कथा प्रवचनको आयोजना गर्ने सम्पूर्ण तयारी यसअघि नै गरिसकेका थियौं तर यस महामारीका कारण अन्तिम समयमा आएर कार्यक्रम स्थगित गरेका छौं ।’ उनले मन्दिरभित्रकै पूजारी लगायत सहयोगीहरुद्धारा बधैया गीत,सोहर समदाउन,आरती गरि जानकी नवमी मनाईएको बताए । आजदेखि ६ दिनसम्म प्रत्येक साँझ मन्दिर भित्रै बधैया गान सहित कार्यक्रमको आयोजना गरिने जानकारी समेत उनले दिएका छन् ।

बिहारकुण्डको चारैतिर अवस्थित ११ वटा मन्दिरहरुमा कोरोना महामारीका कारण यस्तै सामान्य तरिकाले मन्दिरभित्रै आन्तरिक रुपले जानकी जन्मोत्सव मनाउन लागिएको उनले भने । यसअघिका वर्षहरूमा जानकी नवमीमा शोभा यात्रा,दुधमती शाही स्नान, रामायण मेलालगायतका कार्यक्रमहरूको आयोजना गरि जानकी नवमी भव्यताका साथ मनाउने गरिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्