प्रादेशिक अस्पताल जनकपुरमा अर्को पिसिआर मेशिन जडान हुँदै



जनकपुरधाम: प्रदेश २ सरकारले प्रादेशिक अस्पताल जनकपुरमा स्वाब परिक्षणका लागि नयाँ पिसिआर मेशिन मगाएको छ ।

यसअघि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा जडान गरिएको पिसिआर मेशिनले गलत रिपोर्ट दिएपछि करिव एक हप्ता अगाडीदेखि यहाँ स्वाब टेष्ट बन्द गरिएको थियो ।

प्रादेशिक अस्पताल जनकपुरमा जडान गरिएको पहिलाको पिसिआर मेशिनले तीन जनाको गलत रिपोर्ट देखाएपछि स्वाब परिक्षणको काम बन्द गरिएको थियो । सर्लाहीका एक जना र रौतहटका दुई जनाको पिसिआर रिपोर्ट जनकपुरधाममा नेगेटिभ आएपछि काठमाडौंमा परिक्षण गर्दा पोजेटिभ आएको थियो ।

पोजेटिभ रिपोर्ट आएपछि यहाँ परिक्षणको काम बन्द गरिएको हो । नयाँ आएको पिसिआर मेशिन जडानको काम सुरु भएको सामाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले जानकारी दिए । उनले जडानको काम सुरु भएकोले सम्भवतः आजैदेखी स्वाब परिक्षणको काम सुरु हुने बताए । उनले भने,‘प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा सञ्चालनमा रहेको पिसिआर मेशिनमा प्राविधिक समस्या आएका कारण कोरोना सम्बद्ध स्वाब परिक्षणमा समस्या उत्पन्न भइरहेको थियो । त्यसै समस्यालाई मध्यनजर गर्दै आजदेखि अर्को मेशिन ल्याइएको छ ।’

कोरोना रोकथाम,नियन्त्रण तथा उपचारका लागि प्रदेश सरकारले बिभिन्न स्थानमा कोरोना विशेष अस्पताल निर्माण गरिरहेको जानकारी दिँदै उनले यस प्रदेशमा वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल र जनकपुरधामस्थित प्रादेशिक अस्पताललाई संघिय सरकारले लेभल-२ अस्पताल तोकेअनुसार जनकपुरस्थित नर्सिङ्ग क्याम्पसको हातामा पिसिआर मार्फत कोरोना संक्रमण पुष्टी भईसकेका विरामीहरुको उपचार गर्ने व्यवस्था मिलाइएको बताए ।

महोत्तरीको जलेश्वरस्थित जिल्ला अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने प्रदेश सरकारको निर्णय अनुरुप निर्माणकार्य तिव्र गतिले भईरहेको र त्यहाँ ३० बेडको आईसोलेशन कक्ष निर्माण भईसकेकोसमेत सचिव घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्