संसर्गमा रहेका व्यक्तिको पहिचान खुल्दै



रुपन्देही: रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं १ सिपवाका २५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएपछि उनको संसर्गमा रहेका व्यक्तिको पहिचान हुन थालेको छ ।

उनले यही वैशाख ५ गते नेपाल प्रवेशसँगै सम्मरीमाई गाउँपालिकामा रहेकी दिदीका घरमा पुगेर दिउँसो खाना खाएको र साँझ मर्चवारी गाउँपालिकामा रहेको सानीमाको घरमा खाना खाएर सुतेको खुल्न आएको जनस्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर निरीक्षक केदारनाथ साहले जानकारी दिए ।

सानीकामा घरमा सुतेका उनलाई आफ्ना दाइले अर्को दिन लिएर कोटहीमाई गाउँपालिकाको क्वारेन्टाइनमा राखेको समेत उनले बताए । भारत, दिल्लीबाट पैदल, ट्रक र पिकअप भ्यानमा चढेर नेपालको सीमा क्षेत्रसम्म आएका संक्रमित युवकको भारतमा बढी यात्रा भएको देखिएको छ ।

बन्दाबन्दीम भारतबाट वैशाख ५ गते खुला सीमाको फाइदा उठाउँदै नेपाल प्रवेश गरेका उनलाई परिवारका सदस्यले क्वारेन्टाइनमा राखेका थिए । उनको थ्रोट स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । सम्मरीमाईको ठोठरीनाकाबाट नेपाल प्रवेश गरेका उनी दिल्लीबाट आएको कोटहीमाई कार्यालयले जनाएको छ ।

अहिले संक्रमित युवक र उनकी दिदीका ८-८ जनाको परिवार, तथा सानीमाको जनाको परिवारका सदस्य क्वारेन्टाइनमा राखिएको जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । अहिले पनि मर्चवारक्षेत्रमा मानिसको आवतजावत हुने गरेको छ । ती युवकमा कोरोना पोजेटिभ देखिएपछि स्थानीयवासीमा त्रास वढेको छ । उनको कोरोना विशेष अस्पताल बुटवलमा उपचार भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्