आगलागी घटनाप्रति पर्यटनमन्त्री भट्टराईद्वारा दुः ख व्यक्त



ताप्लेजुङ: सदरमुकाम फुङ्लिङ बजारमा गएराति भएको आगलागीको घटनाप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले दुः ख व्यक्त गरेका छन् ।

उनले आज एक विज्ञप्ति जारी गर्दै फुङ्लिङ बजारको माथिल्लो क्षेत्र ट्याक्सी काउन्टर लाइनमा भएको आगलागीबाट भएको भौतिक संरचना तथा धनमालको क्षतिप्रति दुः ख व्यक्त गर्दै पीडितलाई तत्काल उद्धार र राहतको प्रबन्ध मिलाउन स्थानीय प्रशासन र स्थानीय तहलाई अनुरोध समेत गरे ।

उनले सरकारको तर्फबाट प्रदान गरिने पुनः स्थापनाका लागि आफ्नो तर्फबाट आवश्यक पहल गर्ने पनि जानकारी गराए । उनले आगलागीबाट धनमाल गुमाएका जिल्लावासी दिदीबहिनी, दाजुभाइप्रति सहानुभूति प्रकट गर्दै उक्त आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जनप्रतिनिधि र स्थानीय समुदायबाट भएको कार्यको प्रशंसासमेत गरे ।

फुङ्लिङको माथिल्लो क्षेत्र ट्याक्सी काउन्टर लाइनमा भएको आगलागीबाट ७ वटा निजी घर पूर्णरुपमा क्षति हुनाका साथै सोही स्थानमा रहेका अन्य थुप्रै व्यावसायिक पसल, संघसंस्थाका कार्यालयमा ठूलो मात्रामा भौतिक संरचना तथा धनमालको क्षति पुगेको विज्ञप्तिमा जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्