४ सय विपन्न परिवारलाई पहिलो चरणको राहत वितरण



जनकपुरधाम: लकडाउनका कारण छाक टार्न समस्या भएका आफ्ना वडाका विपन्न परिवारलाई जनकपुरधाम उपमहानगरपालिका वडा नं.७ ले राहत वितरण गरेको छ ।

दैनिक ज्यालादारी गरेर छाक टार्ने आफ्नो वडाका १ हजार २ सय ३५ घरधुरीलाई राहत बाँड्ने योजना अनुरुप आज पहिलो दिन ४ सय विपन्न परिवारलाई उपमहानगरले उपलब्ध गराएको १५ किलो चामल,खानेतेल,साबुन र नगद ३ सयका दरले बाँडिएको वडाध्यक्ष जानकीराम साहले जानकारी दिए ।

उनला आज (शनिबार) पहिलो चरणमा वडाभित्रका चार सय परिवार लाभान्वित भएको बताए । वडाध्यक्ष साहले राहत लिन आएकाहरुलाई राहतस्थलमै चिकित्सक खटाएर स्वास्थ्यजाँच समेत गराएका थिए ।

यसअघि जनकपुरधाम उपमहानगरपालिकाको बोर्ड बैठकद्वारा प्रत्येक परिवारलाई ३० किलो चामल, ३ किलो दाल, लिटर खानेतेल र २ प्याकेट नूनलगायतका सामग्री दिने निर्णय गरेपनि मेयर लालकिशोर साहले बैठकको निर्णयलाई उल्टाउँदै पछि १५ किलो चामल, १ लिटर तेल, एक प्याकेट नून र साबुनका साथै दाल र तरकारी वापत प्रतिपरिवार ३ सय रुपैयाँ वितरण गर्ने निष्कर्ष लगाएका थिए ।

जनकपुरधाम उपमहानगरपालिकाले पहिलो चरणमा १२ वटा वडाका ७ हजार ६ सय परिवारका लागि राहत पठाएको थियो । वडा नम्बर २, ३, ४, ५, ६, ८, ११, १४, १६, १७, १८ र २१ मा राहत पठाइएको छ । वडा नम्बर २ मा ३ सय १५, वडा नम्बर ३ मा २ सय ७०, वडा नम्बर ४ मा १ हजार २९, वडा नम्बर ५ मा १ सय ४७, वडा नम्बर ६ मा ५ सय ८८, वडा नम्बर ८ मा ७ सय ५४, वडा नम्बर ११ मा ५ सय ८९, वडा नम्बर १४ मा ६ सय १५, वडा नम्बर १६ मा ५ सय ४१, वडा नम्बर १७ मा ९ सय ४१, वडा नम्बर १८ मा ६ सय १२, वडा नम्बर २१ मा १ हजार २ सय घरपरिवारका लागि राहत वितरण भईरहेको उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्