सुगन्धित जडिबुटी खेतीमा किसान



बर्दिया: सुगन्धित जडिबुटी फूलको व्यावसायिक तेल उत्पादनले यहाँका किसानको जीवनस्तर उकास्न सहयोग पुगेको छ ।

बर्दियाको मधुवन नगरपालिका वडा नं.१ सूर्यपटुवा क्षेत्रका किसान क्यामोमाइल जातको जडिबुटीबाट सुगन्धित तेल उत्पादनमा लागेका छन् ।

पश्चिम तराई भूपरिधि विकास आयोजनाको सहयोगमा क्यामोमाइल तेल उत्पादनमा किसान आकर्षित भएको शिव बचत तथा सहकारी संंस्थाका सदस्य तथा प्राविधिक रामबहादुर थापाले जानकारी दिए ।

क्यामोमाइलबाट सुगन्धित धुप र तेल उत्पादन हुन्छ । उनका अनुसार चार महिनामा तयार हुने सो खेती यस वर्ष करीब ४५ बिघा क्षेत्रफलमा लगाइएको छ ।

गत वर्ष सात बिघामा लगाइएको सो जडिबुटीबाट किसानले करीब २५ लाख बराबरको तेल सहकारी संस्थालाई बिक्री गरेका थिए । क्यामोमाइलको प्रशोधन गर्ने हाल तीन यन्त्र छन् ।
अरु दुई थप गर्ने योजना रहेको सहकारीका प्राविधिक थापाले बताए ।

सहकारीले किसानबाट उत्पादन खरीद गरी नेपालगञ्जमा बिक्री गर्ने गरेका छन् । यसको प्रतिलिटर मूल्य ४८ हजार छ । क्यामोमाइलबाट औषधि, स्याम्पु, अत्तर जस्ता सुगन्धित वस्तु उत्पादन हुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्