द्वन्द्व प्रभावित गाउँमा सिँचाइ र खानेपानी



जाजरकोट: भेरी नगरपालिका-१ रिम्नामा स्थानीयवासीले खानेपानी र सिँचाइ समस्या समाधान गरेका छन् ।

भेरी नदीको किनारमा १८ फिट गहिरो कुवा खनेर पानी निकालिएपछि करिब ३५ घरधुरी बासिन्दाको खानेपानी र उनीहरुले उपभोग गर्दै आएको जग्गामा सिँचाइ अभावको समस्या समाधान भएको हो ।

कुवाबाट पाइप जोडेर टोलटोलमा खानेपानी र सिँचाइको सुविधा उपलल्ध गराएको स्थानीयवासी पुनित विकले जानकारी दिए । भेरी नगरपालिकाको १ लाख ५० हजार लगानी रहेको सो खानेपानीमा ३५ घरधुरीले श्रमदान गरेर गाउँमा पानी ल्याएको विकले जानकारी दिए ।

३५ घरधुरीले १-१ हजारका दरले रकम उठाएका साथै प्रत्येक घरले १० दिन बराबरको निः शुल्क कामसमेत गरेर रिम्नाको ४ टोलमा पानी ल्याइएको हो । अहिले रिम्नाका इलाका प्रहरी टोल, मिलनचोक, तल्लो पुल र घुम्नेगाउँमा निरन्तर कुवाको पानी पाइपमा लिएर उपलब्ध हुँदा भेरी नदीको फोहर पानी पिउने कार्य बन्द भएको छ ।

यो योजना सम्पन्न गर्नका लागि स्थानीयवासीले आर्थिक हैसियातका आधारमा अन्य सहयोगसमेत गरेको मिस्त्री लालबहादुर रानाले बताए । योजना निर्माणका लागि स्थानीयवासीले १० दिन श्रमदान र मिस्त्रीले थप तीन दिन प्राविधिक काम गरेको स्थानीयवासी विशाल रानाले बताए ।

अहिले प्रत्येक टोलमा पानी आउँदा पानीकै लागि भेरी नदीमा दौडिनुपर्ने दिन हटेको स्थानीयवासी दूधबहादुर रानाले जानकारी दिए । ७ घरधुरीले व्यक्तिगत मोटर खरिद गरेर आफ्नो खेतबारीमा सिँचाइ सुविधा प्रयोग गर्दै आएका छन् ।

सिँचाइको अभावमा खेतबारी बाँझै रहे पनि व्यक्तिगतरूपमा मोटर खरिद गरेर भेरी नदीबाट पानी तानी सिँचाइ गरेको स्थानीयवासी हिरे पुनले जानकारी दिए । सरकारको मात्र मुख ताकेर नहु्ने भन्दै उनले आफूले पनि लगानी गरेर आफ्नो खेतबारीमा अन्नबाली लगाउन सकिन्छ भन्ने कुरा प्रमाणित गर्न हामीले यस्तो गरेको पुनले बताए ।

“भेरी नदीको किनारमा घर र खेतबारी भएर पनि बाँझै राख्नुपर्ने विडम्वनाबाट मुक्ति पाउनका लागि हामीले व्यक्तिगत लगानी गरेर मोटरको सहायताले पानी ल्याएका छौँ”, अर्का स्थानीयवासी ललित रानाले भने । भेरी नगरपालिका–१ का वडा अध्यक्ष दीपक रानाले स्थानीयवासीको साथ सहयोग र श्रमदानबाट रिम्नामा खानेपानीको समस्या हल भएको बताए ।

लाखौँको योजना दिएर पनि समयमा काम गर्न नसक्ने र निर्माण भएका पनि दिगो नभएको समयमा रिम्नावासीले गरेको यो काम प्रशंसनीय भएको अध्यक्ष रानाले जानकारी दिए । रिम्ना द्वन्द्व प्रभावित गाउँ हो । यहाँ जनयुद्धको समयमा मात्र २७ जनाले बलिदानी दिएका छन् ।

कम्युनिस्ट गाउँ भनेर चिनिने रिम्नामा अधिकांश मगरबस्ती रहेको छ । द्वन्द्व प्रभावित गाउँ भए पनि सरकारले खास केही नहेरेको उनीहरुको गुनासो छ । हामीलाई आधारभूत सबै, सेवासुविधा उपलब्ध हुनुपर्ने हो तर सरकारले नहेर्दा सरकारप्रति हाम्रो गुनासो छ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा स्थानीय ढकवीर रानाले गुनासो पोखे ।

रुकुमपश्चिम, पूर्वी जाजरकोटका साथै सदरमुकाम खलङ्गाबाट समेत रिम्ना बीच भागमा पर्दछ । रुकुमपश्चिमबाट बग्ने सानीभेरी नदी, ठूलीभेरी नदी यही ठाउँमा मिसिने गर्दछन् ।
त्यस्तै मध्यपहाडी लोकमार्ग, जाजरकोट-डोल्पा सडकखण्डसमेत यही भाग भएर जाने गर्दछन् । दैनिक सयौँ मानिस आवतजावत गर्ने रिम्नामा शहीद स्मृति पार्क निर्माणसमेत गरिएको छ ।

पानीकै अभावमा पार्कलाई हराभरा बनाउन सकिएको छैन । ठूलो लगानी गरेर रिम्नालाई युद्ध पर्यटनका रुपमा संरक्षणका गरी विकास गर्न सके पर्यटन क्षेत्रमासमेत टेवा पुग्ने कुरामा शंका नभएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कर्णाली सदस्य गगनबहादुर खड्काले बताए । रासस

प्रतिक्रिया दिनुहोस्