विपद पूर्वतयारी कार्ययोजना तयार



तनहुँ: जिल्ला विपद व्यवस्थापन समिति तनहुँले मनसुनको समयमा हुन सक्ने सम्भाव्य विपदको व्यवस्थापनको लागि तयारी शुरु गरेको छ ।

मनसुन शुरु हुने समय नजिक आउन थालेकाले बाढीपहिरोबाट पूर्वाधार तथा भौतिक सम्पत्तिमा क्षति हुनसक्ने भएकाले समितिले विपद व्यवस्थापनका लागि पूर्वतयारी शुरु गरेको हो ।
वर्षात्को समयमा हुनसक्ने क्षतिलाई मध्यनजर गरेर त्यसलाई नियन्त्रणका लागि तयारी अवस्थामा रहनुपर्ने विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए ।

उनका अनुसार मनसुनपूर्वको विपत पूर्वतयारी कार्ययोजना तयार गर्न र स्थानीय विपद व्यवस्थापन कोषमा रकम व्यवस्था गर्न सबै स्थानीय तहहरुलाई अनुरोध गरिएको छ ।
जिल्ला विपद व्यवस्थापन समिति तनहुँले गत वर्ष बनाएको विपद प्रतिकार्य योजनाअनुसार जिल्लाका १०वटै स्थानीय तहका ३६ वडा पहिरोको जोखिममा रहेको पाइएको छ । पहाडी तथा भिरालो भू–बनोटका कारण अधिकांश क्षेत्रमा पहिरोको बढी जोखिम छ ।

यस्तै आगलागी, बाढी, खडेरी, सडक दुर्घटनाको जोखिम पनि जिल्लामा उत्तिकै रहेको समितिले जनाएको छ । गण्डकी प्रदेश सरकारले प्रदेशको मुख्य प्रवेशद्वार तनहुँको आँबुखैरेनी गाउँपालिकामा प्रहरी बिट स्थापना गर्ने भएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि नाका कडाइ गर्ने उद्देश्यका साथ प्रदेश सरकारले आँबुखैरेनी गाउँपालिका–४ पुलजीपमा प्रहरी बिट राख्न लागेको हो ।

दीर्घकालीनरूपमा नै उक्त ठाउँमा प्रहरी बिट स्थापना गर्ने उद्देश्यबमोजिम प्रदेश सरकारले बिट स्थापनाका लागि उपयुक्त जग्गाको स्थलगत अध्ययनसमेत गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले प्रहरी बिट राख्नका लागि जग्गाको अवलोकन गरे ।

पुलजीपमा रहेको मुग्लिङ पुलकै नजिक रहेको जग्गा सार्वजनिक रहेकाले त्यस ठाउँमा प्रहरी बिट स्थापना गर्न उपयुक्त देखिएको मन्त्री चुमानले जानकारी दिए । मन्त्री चुमानका अनुसार प्रहरी बिटमा पाँच जना प्रहरी खटाउने तयारी गरिएको छ । उनले भने, “प्रदेशको मुख्य नाकालाई कडाइ गर्नका लागि त्यस ठाउँमा प्रहरी खटाइनेछ,तत्कालका लागि कोभिड-१९ को जोखिम न्यूनीकरणका लागि भए पनि त्यस ठाउँमा दीर्घकालीनरूपमा नै प्रहरी बिट राखिनेछ ।”

उनका अनुसार उक्त ठाउँमा सिसी क्यामरासमेत जडान गरिनेछ । मन्त्रालयले चालू आर्थिक वर्षमा नै सिसी क्यामरा जडानका लागि २५ लाख बजेट विनियोजन गरेको थियो । तर बन्दाबन्दीका कारण समयमा नै सिसी क्यामरा जडान गर्न नसकिएको मन्त्री चुमानले जानकारी दिए ।

आँबुखैरेनीमा स्थापना गरिएको विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशालाको कार्यालय निर्माणका लागि समेत प्रदेश सरकारले जग्गाको खोजी गरिरहेको छ । तरकारीलगायत खाद्यान्नमा हुने विषादी न्यूनीकरण गर्दै विषादीरहित तरकारी प्रदेशभित्र भित्र्याउने उद्देश्यले मन्त्रालयले प्रदेशको नाका आँबुखैरेनी गाउँपालिका-३ मा विषादी अवशेष दु्रत विश्लेषण प्रयोगाशाला स्थापना गरेको थियो । कर्मचारी र कार्यालय भवनको अभावमा उक्त प्रयोगशाला प्रभावकारीरूपमा सञ्चालन हुन सकेको छैन । रासस

प्रतिक्रिया दिनुहोस्