कोरोना मुक्तिको कामना गर्दै विश्वशान्ति महायज्ञ



बागलुङ: विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड-१९ को शान्तिको कामना गर्दै बागलुङमा श्रीमद भागवत कोरोना विश्वशान्ति महायज्ञ शुरु गरिएको छ ।

कोरोना भाइरसको संकटबाट विश्वलाई मुक्ति दिलाउनका लागि सातदिने विश्वशान्ति महायज्ञ शुरु गरिएको हो । जिल्लाको बागलुङ नगरपालिका–४ कुँडुलेस्थित जलेश्वर महादेव मन्दिरमा विश्वशान्ति महायज्ञको आयोजना गरिएको छ । महायज्ञमा बाहिरी भक्तजनलाई भने निषेध गरिएको छ ।

भक्तजनलाई महायज्ञ सुन्नका लागि माइकिङबाट प्रसारणको व्यवस्था मिलाइएको छ । सारा विश्वमा सङ्कटका रुपमा पैदा भएको कोरोना भाइरसबाट मुक्ति दिइ शान्ति पैदा गर्न र विश्वमा मुत्युवरण गरेकाको सम्झनामा श्रीमद भागवत महापुराण कोरोना विश्वशान्ति महायज्ञको आयोजना गरिएको जलेश्वर महादेव मन्दिरका संस्थापक एवं महायज्ञका मूल अर्चक चन्द्रदत्त आचार्य (स्वामी चन्दन गिरि)ले बताए ।

परापूर्वकालमा ऋषि महर्षीले महामारीका समयमा विभिन्न यज्ञको आयोजना गरी विश्वशान्तिको कामना गर्न पाइएको भन्दै आचार्यले परम्परालाई निरन्तरता दिँदै यज्ञ आयोजना गरेको बताए ।
यज्ञमा पूर्णरूपमा सामाजिक दूरी कायम गरिएको छ । कार्यक्रममा मूल वाचकका रूपमा विश्व हिन्दू संगठनका दक्षिण एशिया प्रमुख चन्द्रकान्त पौडेल एवं उपवाचकका रूपमा पण्डीत श्री हरिकृष्ण रेग्मी छन् । कार्यक्रम सात दिनसम्म चल्नेछ ।

महायज्ञमा भीडभाड गर्न निषेध गरिएको छ भने माइकमार्फत घरमै बसेर कथा एवं पाठ पारायण सुन्न अनुरोध गरिएको छ । महायज्ञमा कोरोना सङ्कट मुक्तिका लागि दीप प्रज्वलन, दीप पूजा, लक्ष्मी पूजा, गणेश पूजा, भागवत पाठपारायण, आरती भजन र भागवतको कथालगायतका कार्यक्रम दैनिकरुपमा गरिँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्