सीमामा अलपत्र नेपालीलाई भित्र्याउन सांसदको माग



काठमाडौं: प्रतिनिधिसभाको आजको बैठकमा भारतको सीमामा अलपत्र नेपालीलाई भित्र्याउने सम्बन्धमा सरकारले गम्भीरताका साथ चासो दिनुपर्ने आवाज उठेको छ ।

बैठकको शून्य समयमा सांसदहरुले कोरोना भाइरसको जोखिम र मजदूरी कामसमेत प्रभावित भएका बेला स्वदेश फर्कन चाहने नेपालीलाई स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइनमा राख्ने गरी नेपाल ल्याउन माग गरे ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद डा अमरेशकुमार सिंहले प्रश्न गर्दै भने,“के सीमा बसेका नेपाली नागरिक होइनन् ? तिनलाई स्वदेश ल्याउनु सरकारको दायित्व होइन ?” तर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खेमप्रसाद लोहनीले कोरोना रोकथाममा सरकारको प्रयास प्रशंसनीय भएकाले सीमा नाकामा अझै कडाई गर्नुपर्ने र विदेशमा रहेका नागरिकको उपचारमा आवश्यक पहल गर्न आवश्यक रहेको बताए ।

काँग्रेसका सांसद गगन थापाले सरकारले जनताको व्यथालाई ध्यान नदिएको भन्दै व्यङ्ग्यात्मक बाल कवितामार्फत आलोचना गरे । राष्ट्रिय जनता पार्टीका सांसद चन्दा चौधरीले भारतको विहार राज्यमा १४ दिन क्वारेन्टाइनमा बसिसकेका नेपालीलाई पनि नेपाली सीमामा आफ्ना नागरिकलाई आउन नदिनु कहाँको नियम हो भनी प्रश्न गरिन् ।

काँग्रेसका सांसद उमा रेग्मीले सीमामा आएका नेपालीलाई स्वास्थ्य जाँच गरेर स्वदेश फर्काउन माग गरिन् । सत्तारुढ नेकपाका खगराज अधिकारीले नेपाली भूमि बारम्बर विदेशी हस्तक्षेपको सिकार भएकामा सरकारको ध्यानाकर्षण गराए ।

नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएकामा खेद व्यक्त गर्दै उनले यसका विरुद्ध सबै नेपाली एक भएर लड्नुपर्ने बताउ । सोही पार्टीका गणेशकुमार पहाडीले पनि भारतले अतिक्रमण गरेको भूमिमा नेपालको राजनीतिक र प्रशासनिक भूमिका हुनुपर्ने बताए ।

सांसद गणेशसिंह ठगुन्नाले दार्चुलाको पौलामा सशस्त्र प्रहरीको क्याम्प तत्काल राख्न माग गरे । सांसद गंगा चौधरी सत्गौवाले नेपाली भूमि मिचिएकामा स्वाभिमानी नेपालीले सहन नसक्ने भन्दै भारतको यो व्यवहारविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा जानुपर्ने बताईन् ।

सांसद घनश्याम खतिवडाले जङ्गे पिलरका नामबाट पटक पटक भारतले नेपाली भूमि अतिक्रमण गरेको र अर्काे छिमेकी चीनले पनि यसमा उचित व्यवहार नगरेको बताए । सांसद जिपछिरिङ लामाले भारतले ठूलो भाइको शैलीले जहिल्यै पनि नेपाललाई हेप्दै आएको उल्लेख गर्दै सरकार र नेतालाई भारतीय मिचाहापूर्ण कार्यबारे थाहा छ कि छैन भनी प्रश्न गरे ।

सांसद उमाकान्त चौधरी सरकारले दुई अध्यादेश किन ल्याइयो र किन फिर्ता गरियो भन्ने थाहा हुनुपर्ने माग गरे । सांसद गजेन्द्रबहादुर महतले बन्दाबन्दीका समयमा प्रमुख जिल्ला अधिकारीले आफू्खुशी पास वितरण गरेको र सांसदहरुलाईसमेत कठिनाइ सिर्जना गरेको गुनासो गरे ।
सांसद आशाकुमारी विकले गण्डकी प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले जातीय विभेद उत्पन्न हुने गरी अभिव्यक्ति दिएकाले थापालाई कारवाही गर्न माग गरे ।

बैठकमा पूर्वबजेट छलफलअन्तर्गत आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) सम्बन्धमा छलफल शुरु भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्