पत्रकार यादवलाई कुटपिट गर्ने एक पक्राउ



कलैया: तराई मधेश राष्ट्रिय दैनिकका प्रकाशक पवन यादवलाई कुटपिट गर्ने समूहका एकजनालाई प्रहरीले आज पक्राउ गरेका छ ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका-३ भवानीपुरका छोटे मन्सुर रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले बताए । मन्सुरलाई घरबाट पक्राउ गरिएको हो भने बाँकी तीन जनाको खोजी भइरहेको छ ।

पक्राउ परेका मन्सुरमाथि कुटपिट मुद्दा दर्ता गरी कारवाही अगाडि बढाइएको छ । पत्रकार यादवलाई कलैयाको भरतचोकस्थित पत्रिकाको कार्यालयबाट काम सकेर घर जाने क्रममा आइतबार बेलुका कलैया पिलुवा सडकखण्ड अन्तर्गत अवधापुरमा ४ जनाको समूहमा रहेका व्यक्तिले कुटपिट गरेक थिए ।

यादवका अनुसार कलैया उपमहानगरपालिका-२ अवधापुरस्थित हनुमान मन्दिरका पुजारी किशोरी दासलाई राति ८ः३० बजे ४ जनाको समूहमा रहेका व्यक्तिले फोहर फोहर गाली गरिरहेको अवस्थामा सम्झाउन जाँदा उनीहरुले आफूलाई कुटपिट गरेको बताएका थिए ।

शरीरको विभिन्न भागमा चोट लागेका पत्रकार यादवको राति नै कलैया अस्पतालमा उपचार गरिएको थियो । उनको अवस्था समान्य रहेको छ ।

ती अपरिचित व्यक्तिले कुटपिट गर्नाका साथै क्यामरा, ल्यापटप र मोबाइलसमेत फुटाई क्षति पुर्याएका छन् । उनले भने,“गाँजा पक्रन लगाउने यिनै पत्रकार रहेको भन्दै पिट्न थालेको र नजिकै रहेका घरका महिलाले आफूलाई उद्धार गरी ज्यान बचाएको थियो ।” हेलमेट टाउकोमा लगाएका कारण आफू ठूलो क्षति हुनबाट जोगिएको उनको भनाइ छ ।

यसैबीच पत्रकार यादवमाथि भएको संघातिक घटनाको नेपाल पत्रकार महासंघ बारा, नेपाल प्रेस संगठन र नेपाल प्रेस युनियनले छुट्टाछुट्टै विज्ञप्ति निकालेर घटनाको घोर भत्र्सना गर्दै दोषीमाथि कडा कारवाही, उपचार र क्षतिपूर्तिको माग गरेका छन् ।

नेपाल पत्रकार महासंघ प्रदेश नं.२ का अध्यक्ष दीपेन्द्र चौहानले पनि घटनाप्रति दुःख व्यक्त गर्दै पत्रकार यादवमाथि कुटपिट गर्नेलाई कडा कारवाही गर्न माग गरे । रासस

प्रतिक्रिया दिनुहोस्