वकिल बन्न चाहन्थे तर बने नेता



जनकपुरधाम : गत २७ गते आइतबार धनुषाको ढल्केबरस्थित निवासमा पुग्दा बैठक कक्षमा जनताको गुनासो सुनिरहेको अवस्थामा भेटिए नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य हरिनारायण महतो ।

 उनको बैठक कक्षको भित्ता माक्र्स, एगेंल्स, लेनिन, स्टालिन, माओ, च्वेग्वेभाराका साथै नेपाली कम्युनिस्ट आन्दोलका धरोहर पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारीका तस्बिरले  भरिएका थिए । र, तिनै तस्बिरको लहरमा थियो दिवंगत राजा वीरेन्द्रका परिवारको फोटो पनि । मिथिला नगरपालिकाको मेयरसमेत रहेका महतो नगरको विकास निर्माणका बारेमा गम्भीर छलफलमा थिए । छलफल सकेपछि उनी द नेपाल टपसगँ खुलेरै गफिन थाले ।

‘म कम्युनिस्ट भए पनि व्यक्तिगत रुपमा मलाई राजा वीरेन्द्र खुबै मन पथ्र्यो’, विगत ४० वर्षदेखि कम्युनिस्ट राजनीति गरेका महतोले कम्युनिस्ट नेताहरुको फोटोसँगै राजा वीरेन्द्रका परिवारको फोटो राख्नुको कारण बताए । राजा वीरेन्द्रलाई औधी मन पराउने महतो राजनीतिमा कुनै नेताबाट प्रभावित भएर लागेका भने होइनन् । ‘समाजमा व्याप्त अन्याय अत्याचारलाई जरैदेखि उखेलेर फाल्न कम्युनिस्ट राजनीतिमा लागें’, महतोले आफू कम्युनिस्ट राजनीतिमा लाग्नुको कारण खोले ।


अनि लागें राजनीतिमा

आजभन्दा ४० वर्षअघिको कुरा हो । उनको पुख्र्यौली घर भएको कुसुम बिसौनामा दुई समूहको दबदबा थियो । एउटा समूहको नेतृत्व जुगेश्वर महतोले गरेका थिए भने अर्को समूहको नेतृत्व रामकिसुन महतोले । ‘उति बेला राजनीतिक दल प्रतिबन्धित भएकाले पनि यी दुईले नेतृत्व गरेका समूह गाउँमा सक्रिय थिए’, महतो सम्झन्छन् । यी दुईमध्ये जुगेश्वर सामन्त वर्गको नेतृत्व गर्थे भने रामकिसुन अन्यायमा पर्नेहरुको नेतृत्व गर्थे ।

यस्तैमा मेयरकै दाइ पर्ने तर जुगेश्वरको समूहका एकजनाले बारीको बीचबाट बाटो खोल्ने अड्डी लिए । यसबाट आफ्नो परिवारमाथि अन्याय भएको महसुस कक्षा १० मा पढ्दै गरेका उनलाई भयो । उनी बारीको बीचबाट बाटो खोल्न नदिन रामकिसुनको समूहमा लागेर जुगेश्वर नेतृत्वको समूहको प्रतिकारमा उत्रिए । जुगेश्वरको समूहले बाटो बनाउन सकेन । जुगेश्वर समूहबाट अन्यायमा परेकाहरु पनि उनको पक्षमा खुलेरै लाग्न थाले ।

जुगेश्वर समूहलाई हराएपछि उनको चर्चा वरपरका गाउँमा हुन थाल्यो । उनी तत्कालीन सयुंक्त जनमोर्चा (चौथो महाधिवेशन) का नेता गणेश जर्घाको नजरमा परे । नेता जर्घाकै आडभरोसाले उनी २०३६ सालमा अनेरास्ववियुबाट विद्यार्थी राजनीतिमा लागे । विद्यार्थीलाई संगठित गर्ने क्रममा उनी जनकपुरस्थित आरआर क्याम्पसमा पनि केही समय सक्रिय भएका थिए ।


उपप्रधानमा हारे, अध्यक्षमा जिते

राजनीतिमा उनको सक्रियता बढेपछि २०४३ सालको स्थानीय चुनावमा संयुक्त जनमोर्चाले उनलाई बेगाडावर गाविसको उपप्रधानपञ्चको टिकट दियो । प्रधानपञ्चमा भने नेता गणेश जर्घालाई पार्टीले टिकट दियो । तर उति बेला महतो ३६ मतले पराजित भए । जर्घा पनि पराजित भए । बहुदल आएपछि २०४९ सालको स्थानीय चुनावमा पार्टीले उनलाई ढल्केवर गाविसको अध्यक्षमा उम्मेदवार बनायो । नेकपा एमालेको समर्थनमा उनले अध्यक्षमा जिते । गाविस अध्यक्ष जितेपछि उनको राजनीतिक उचाइ ह्वात्तै बढ्यो ।

२०५१ सालको मध्यावधि चुनावको विषयलाई लिएर भने जनमोर्चासँग महतोको विमति देखा पर्यो । जनमोर्चाले चुनावको भण्डाफोर गर्ने नीति लियो भने महतोले चुनावको सदुपयोग गर्दै सदन र सडक दुवै ठाउँमा संघर्ष गर्नुपर्ने धारणा राखे । त्यसैले उनी एमालेमा प्रवेश गरे । २०५४ सालको स्थानीय चुनावमा एमालेलगायतका कम्युनिस्ट पार्टीले उनलाई ढल्केवर गाविस अध्यक्षको उम्मेदवार बनाए । उनले फेरि चुनाव जिते अनि दोस्रो पटक गाविस अध्यक्ष बने ।


अन्तरसंघर्षको सिकार

एमालेमा भित्रिएपछि उनको राजनीतिक सक्रियता झनै बढ्यो । एमालेको क्षेत्रीय इन्चार्ज रहेका उनी पार्टीको जनवर्गीय संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको धनुषा जिल्ला इन्चार्जसमेत थिए । जिल्लाका युवालाई संगठित गरिरहेका उनी माउ पार्टीले अह्राएको कामलाई पनि दिनरात नभनी पूरा गर्थे ।

तर गुटउपगुटले एमालेलाई गाँजेपछि उनी पेलाइमा पर्न थाले । केपी ओली गुटका उनलाई माधव नेपाल गुटले भित्तैमा पुर्याउने कोसिस गर्यो तर उनले हार मानेनन् । त्यसपछि एमालेको जिल्ला अध्यक्ष हुँदै उनी केन्द्रीय सदस्यसमेत बने । अहिले पनि उनी तत्कालीन एमाले र माओवादी  मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य छन् । ‘गुटको पेलाइमा नपरेको भए म उहिल्यै सांसद र मन्त्री हुने थिएँ’, उनले सुनाए, ‘मभन्दा धेरै पछि राजनीतिमा लागेका मेरै पार्टीका धेरै कमरेड सांसद र मन्त्री बनिसकेका छन् ।’


राजनीतिमा लागेर पढ्न पाएनन्

२०२० सालमा धनुषाको बेंगाडाबर कुसुमबिसौनामा जन्मिएका हरिनारायण महतोको परिवार हुनेखानेमै गनिन्थ्यो । २५ बिघा जमिनमा अन्नबाली लगाउने कामदारमात्रै उनको घरमा २५ जना थिए । उनलाई पढाउनकै लागि घरमा शिक्षक राखिएको थियो । गाउँभरिका केटाकेटी भेला गराएर पढाइन्थ्यो । ३ कक्षा सम्म गाउँकै कुसुम बिसौनामा पढेका उनी त्यसपछि बेंगाडावर स्कुलमा होस्टेलमा बसेर पढ्न थाले । उनले २०३६ सालमा एसएलसी पास गरे ।

गाउँमा अन्याय अत्याचार हुने भएकाले उनी वकिल बनेर पीडितलाई न्याय दिलाउन काठमाडौंको ल क्याम्पसमा भर्नासमेत भए । तर १० कक्षादेखि नै सक्रिय राजनीतिमा लागेका उनलाई एसएलसी पास गरेपछि पार्टीले पूर्णकालीन सदस्य बनायो । पार्टीको निर्देशनअनुसार खटिनुपर्ने भएकाले उनले पढाइलाई समय दिन पाएनन् । 

भूमिगत भएर राजनीति गरिरहेका उनले पटकपटक जेल पनि बस्नुपरेपछि पढाइ अगाडि बढाउन सकेनन् । ‘वकिल बनेर अन्यायमा परेकालाई न्याय दिलाउने ठूलो इच्छा थियो’, उनले सुनाए, ‘तर परिस्थितिले नेता बनायो ।’

पछिल्लो स्थानीय निकायको चुनावमा पनि उनले एमालेबाट मिथिला नगरपालिकाको प्रमुखमा जिते । अहिले नगरको विकासमा दत्तचित्त भएर लागिपरेका ५५ वर्षीय महतो अहिले जनतामा राजनीतिक चेतना जागृत भएको बताउँछन् । कुराकानीको बिट मार्दै महतोले भने, ‘पहिला नेताले जनता बनाउनुपथ्र्यो, अहिले जनताले नेता बनाउँछन् ।’

प्रतिक्रिया दिनुहोस्