आरडिटी किट्सको अभाव



काठमाडौं: कोरोना भाइरसको परीक्षण गर्न आरडिटी किट्सको अभाव भएको छ ।

जिल्लाका विभिन्न स्थानीय तहमा अन्यत्रैबाट काम गर्न आएका कामदारको तत्काल सो परीक्षण गर्न किट्सको अभाव भएको जनाइएको छ ।

मदनभण्डारी राजमार्ग सडक खण्डअन्तर्गत सिन्धुली खण्डमा सडक निर्माणको काम पाएका कालिका कन्स्ट्रक्सनका ४४ र अनक कन्स्ट्रक्सनका ३८ मध्ये अनकका २४ को मात्रै सो परीक्षण भएको छ ।

अन्यको परीक्षण भने किट्स अभावकै कारण हुन सकेको छैन । सो कन्स्ट्रक्सनले पुल बनाउन अझै २० जना कामदार ल्याउने तयारी गरेको छ ।

यस्तै सो लोकमार्गमा काम गर्न ठेकेदार कम्पनीले ल्याएका कामदारको पनि स्वास्थ्य परीक्षण हुन नसक्दा फिक्कल गाउँपालिकाका स्थानीयवासीले विरोध जनाएका छन् । फिक्कलमा २० कामदार सप्तरीबाट आएका र उनीहरुलाई पनि क्याम्पमा राख्न गाउँपालिकाले अनुरोध गरेको छ ।

जिल्लाका अरु स्थानीय तहमा समेत विकास निर्माणको कार्य सञ्चालन गर्ने तयारी भइरहँदा किट्सको अभावले स्थानीयवासी त्रसित भएका छन् । सो परीक्षणका लागि स्वास्थ्य संस्था तथा सिन्धुली अस्पतालमा आएकालाई आरडिटीबाहेकका जाँच गरी क्याम्पमा पठाइएको छ ।

जिल्लाका राष्ट्रिय गौरवका आयोजनामा काम गर्न विभिन्न जिल्लाबाट कामदार ल्याउँदा कोरोनाको जोखिम बढेको भन्दै स्थानीयवासीले भने स्वास्थ्य जाँच गराउन तथा क्वारेन्टाइनमा राख्नसमेत आग्रह गरिरहेका छन् ।

स्वास्थ्य कार्यालयका प्रमुख जीतेन्द्रकुमार शाहले अहिले आरडिटी किट्स नेपालमा नै अभाव भएको जानकारी दिए । “सो परीक्षण गर्दा सबैलाई ढुक्क हुने भएको हुँदा धेरैले अरडिटी परीक्षण गर्न आग्रह गर्ने गर्छन् । ” उनले भने । उनका अनुसार जिल्लामा हालसम्म ५६४ जनाको आरडिटी जाँच गरिएको र सबैको नतिजा नेगेटिभ आएको उनले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्