प्रदेश २ मा कोरोना संक्रमितको संख्या ७२ पुग्यो



जनकपुरधाम: प्रदेश नं.२ को पर्सा जिल्लास्थित विरगंज महानगरपालिका कोरोनाको हटस्पट बनेको छ ।

विरगंजमा एकै दिनमा ३९ जनामा कोरोनाको संक्रमण देखिएपछि पर्सा जिल्लामा कोरोना संक्रमित हुनेको संख्या ६४ पुगेको छ ।

मंगलबार संक्रमित पाइएकोहरु मध्ये पत्रकारसमेत रहेको बताइएको छ । विरगंजमा कोरोना संक्रमण बढ्दै गएपछि त्यहाँ ६ सय जनाको स्वाब संकलन गरिएको थियो । ६ सय जनाको स्वाब परिक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण रहेको पुष्टी भएको छ ।

संक्रमितहरु विरगंज महानगरपालिकाको वडा नं.१, २ र ३ तथा छिपहरमाई गाउँपालिकाको ३९ जनामा कोरोना संक्रमण पाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
यता बाराको विश्रामपुर गाउँपालिका वडा नं.३ का १४ वर्षिय किशोरमासमेत कोरोना संक्रमण पाइएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक तथा सूचना अधिकारी विजयकुमार झाले जानकारी दिए ।

संक्रमित मध्ये अधिकांशलाई अहिले पनि आइसोलेसनमा राख्न नसकिएको बताइएको छ । आइसोलेसनको अभाव रहेकोले सबैलाई अझैसम्म राख्न नसकिएको झाले बताए ।

विरगंजमा थप ३९ जनामा कोरोना संक्रमण भेटिएपछि प्रदेश २ मा कोरोना संक्रमितको संख्या ७२ पुगेको छ । प्रदेश २ मा सबैभन्दा बढी पर्सामा ६४ जनामा कोरोना संक्रमण पाइएको छ भने बारामा ३, रौतहटमा ३, सप्तरीमा १ र सर्लाहीको १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

प्रतिक्रिया दिनुहोस्