आज जनताको जलविद्युत् आयोजना सार्वजनिक हुने



काठमाडौं: प्रधानमन्त्री केपी ओलीले ‘जनताको जलविद्युत् आयोजना’ आज सार्वजनिक गर्ने भएका छन्। ओलीले राष्ट्रिय सभागृहमा हुने एक औपचारिक समारोहमार्फत ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली जलविद्युतको सेयरधनी’ भन्ने नारासहिको कार्यक्रम घोषणा गर्न लागेका हुन्।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलविद्युत् लगानी तथा विकास कम्पनीमार्फत तयार पारेको तीन हजार चार सय ७९ मेगावाटका १९ आकर्षक आयोजना सार्वजनिक गर्ने जानकारी दिएको हो। यस्ता आयोजनामा नेपाली नागरिकलाई मात्रै एक खर्ब रुपैयाँको सेयर जारी गर्ने योजना रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले जानकारी दिए। पुनले बुधबार मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मलेनमार्फत हरेक नेपालीलाई जलविद्युत्को सेरयधनी बनाउन आकर्षक आयोजनामा लगानी गर्न आग्रह गरिने बताए।

मन्त्री पुनका अनुसार सरकारले तीन वर्षमा तीन हजार, पाँच वर्षमा पाँच हजार र १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने सरकारी योजनालाई सार्थक यसले सहयोग पुग्नेछ। जनतालाई तुरुन्तै प्रतिफल दिन सक्ने आयोजनामा लगानी गराउन पनि यो कार्यक्रम अगाडि सारिएको मन्त्री पुनले बताए।

यी आयोजना पूरा गर्न प्रतिमेगावाट २० करोड रुपैयाँका दरले ६ खर्ब ९५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यही लगानीमध्ये कुल लागतको ७० प्रतिशत (चार खर्ब ८७ अर्ब रुपैयाँ) ऋणमार्फत जुटाउने र बाँकी ३० प्रतिशत (दुई खर्ब आठ अर्ब रुपैयाँ) स्वपुँजीबाट जुटाउने गरी स्रोत व्यवस्थापन योजना बनाएको मन्त्रालयले जानकारी दिएको छ।

यस्तो स्वपुँजीमा सर्वसाधारणबाट ४९ प्रतिशत (एक खर्ब दुई अर्ब रुपैयाँ ) लगानी आह्वान गरिनेछ। यो पुँजीमा आयोजना प्रभावित स्थानीयको १० प्रतिशत र अन्य सर्वसाधारणको ३९ प्रतिशत हुन्छ। यी आयोजना निर्माणका निम्ति संस्थापकबाट स्वपुँजीको ५१ प्रतिशत (एक खर्ब ६ अर्ब रुपैयाँ) लगानी हुने पनि जलविद्युत् लगानी तथा विकास कम्पनीले तयार पारेको कार्यक्रम कार्यान्वयनको अवधारण पत्रमा उल्लेख रहेको खवर अन्नपुर्णमा छ ।

जनताको लगानीका निम्ति सार्वजनिक गर्न लागिएका यस्ता १९ वटा आयोजनामा किमाथांका अरुण (४८२ मेगावाट), अपर अरुण (७२५ मेगावाट), इखुवा (३० मेगावाट), अरुण ४ ( ३७२ मेगावाट), धुन्सा खोला (७२ मेगावाट), सिम्बुवा खोला (७० मेगावाट) रहेको छ।

तामाकोसी ५ (९६ मेगावाट), त्रिशूली ३ बी (३७ मेगावाट), बूढीगण्डकी ग्वारखोला (६० मेगावाट), बूढीगन्डकी प्रोक १ ( १०० मेगावाट), बूढीगन्डकी प्रोक २ (२४० मेगावाट), बूढीगन्डकी क (७५ मेगावाट) पनि छनोट भएका छन्। यस्तै, भेरी बबई डाइभर्सन (४८ मेगावाट), फुकोट कर्णाली (४९२ मेगावाट), जगदुल्ला १ (९२ मेगावाट), जगदुल्ला २ (६५ मेगावाट), चैनपुर सेती (२१० मेगावाट), सेती नदी ३ (१६३ मेगावाट) र अपर सेती (५० मेगावाट) लाई पनि छनोट गरेर राखिएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्