निजामतीमा कर्मचारी भर्ना राेकियाे



 सरकारले लोक सेवा आयोगलाई दुई महिना कर्मचारी छनोटको विज्ञापन नखोल्न आग्रह गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले त्यस्तो निर्णय गरेको हो ।

 

सरकारले संघीय निजामती सेवामा दुई महिना कर्मचारी भर्ना स्थगित गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लोक सेवा आयोगलाई दुई महिना विज्ञापन नखोल्न आग्रह गरेको छ । आयोगले प्राविधिक र प्रशासनतर्फका शाखा अधिकृतको विज्ञापन गर्ने तयारी गरिरहेको थियो ।

 

आयोगले विभिन्न पदका लागि परीक्षाको विज्ञापन गर्ने कार्यतालिका साउन १ मा प्रकाशित गरे पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट रिक्त दरबन्दीको विवरण समयमै प्राप्त गर्न सकेको थिएन । आयोग अध्यक्ष उमेश मैनालीले मन्त्रिपरिषद् निर्णयबाट करिब ८ लाख परीक्षार्थी प्रभावित हुने बताए ।

 

दुई महिनाको अवधिमा पनि विवरण दिन मन्त्रालयलाई समस्या पर्न सक्ने मैनालीको विश्लेषण छ । ‘सरकारको निर्णयबारे गम्भीर ढंगले छलफल गर्छौं,’ उनले कान्तिपुरसँग भने, ‘मंसिरमा पनि उहाँहरूले विवरण दिन सक्नेमा आशंका छ ।’

 

कार्यतालिकाअनुसार असोज दोस्रो सातासम्म उपसचिव र सहसचिवको रिक्त दरबन्दी विवरण आयोगमा प्राप्त भइसक्नुपर्ने र असोज ३१ मा परीक्षाको विज्ञापन गरिसक्नुपर्ने हो ।

प्रतिक्रिया दिनुहोस्