आइतबार एकैदिन १ सय ६६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५६७ पुग्यो



काठमाडौं : आइतबार नेपालमा थप १६६ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये १६२ जना पुरुष रहेका छन् भने ४ जना महिला रहेका छन् ।

पछिल्लो २४ घन्टामा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए।

पछिल्लो २४ घण्टाभित्र संक्रमित पुष्टि भएकामा पोखरामा ३ जना, स्याङ्जाका दुई, तनहुँका एक, पर्सा सुगौलीका ५ जनामा कोरोना पोजिटिभ देखिएको छ।

त्यस्तै जुम्लामा गरिएको परीक्षणमा ३७ जना पोजिटिभ देखिएको छ। जसमा कालिकोटका १८ जना, दैलेखका १८ जना र बाजुराका १ जना रहेका छन्।

त्यस्तै सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका २५ र सुर्खेत १, धुलिखेलमा गरिएको परीक्षणमा कपिलवस्तुका १ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

भेरी अस्पतालमा गरीएको परीक्षणमा बाँकेका ८ जना, धरानमा गरिएको परीक्षणमा सप्तरीका १२ जना, सेती अस्पतालमा कैलालीका ३ जना तथा बाजुराका २ जना, कोशी अस्पतालमा झापाका ४, मोरङका १ जनाको रिपोर्ट पोजिटिभ आएको हो।

त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा धनुषा, कपिलवस्तु, रौतहट र सर्लाहीका ६४ जनाको रिपोर्ट पोजिटिभ आएको हो।

योसँगै नेपालमा संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ।

नेपालमा हालसम्म संक्रमितमध्ये २२० जना उपचारपछि निको भएका छन्। संक्रमण देखिएकामध्ये ८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्