सोमवार मात्रै २ सय २६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७९८ पुग्यो



काठमाडौं– नेपालमा आज सोमवार मात्रै थप २ सय २६ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये २ सय १३ पुरुष र १३ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २२६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए।

विराटनगरमा भएको परीक्षणमा झापाका २ जनामा पोजेटिभ देखिएको छ । यस्तै पोखरामा भएको परीक्षणमा नवलपरासीका ३, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४३ जनामा पोजेटिभ देखिएको छ । जसमा दैलेखका २४ र जुम्लाका १८ जना रहेका छन् ।

सुर्खेतमा भएको परीक्षणमा दैलेखका १७, सल्यानका १० र सुर्खेतका ५ गरी ३२ जनामा पोजेटिभ देखिएको छ ।

यस्तै धुलिखेलमा परीक्षणमा कलिवस्तुका २, रौतहटका १८ जनामा पोजेटिभ देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा ९२ जनाको पोजेटिभ देखिएको छ ।

धनुषाका ७, कपिलवस्तुका ३८, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५ र उदयपुरका १ जनामा पोजेटिभ देखिएको छ । यस्तै सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा १८ जनामा पोजेटिभ देखिएको छ ।

कैलाली १४ तथा अछाम, बैतडी, डोटी र कञ्चनपपुरमा १—१ जनामा पोजेटिभ देखिएको छ । यस्तै भेरी अस्पतालमा भएको परीक्षणमा बाँकेका ७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा दाङका ९ जनामा पोजेटिभ देखिएको छ । अहिले प्रदेश नम्बर १ मा १ सय ३८, प्रदेश नम्बर २ मा ५ सय ८९, बागमती प्रदेशमा १५ र गण्डकी प्रदेशमा २३ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा ५ सय ७०, कर्णाली प्रदेशमा १ सय ९७ र सुदूरपश्चिम प्रदेशमा ३७ जना गरी १ हजार ५ सय ६९जना संक्रमित उपचाररत रहेको उनले बताए ।

योसँगै नेपालमा संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको छ। नेपालमा हालसम्म संक्रमितमध्ये २२१ जना उपचारपछि निको भएका छन्। संक्रमण देखिएकामध्ये ८ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्