इजरायली प्रमुख विमान कम्पनीले २०१९ देखि उडान नगर्ने चेतावनी



जेरूसेलम : सुरक्षाको कारण देखाउँदै इजरायलका प्रमुख मानिने विमान कम्पनीद्वारा सन् २०१९ को जनवरी १ देखि उडान नगर्ने चेतावनी दिएका इजरायली स्थानीय सञ्चार माध्यमहरूले आइतबार जनाएका छन्। 

 

एल अलका प्रमुख एली दापासले इजरायली राष्ट्रिय सुरक्षा परिषद्का उपप्रमुख र प्रधानमन्त्रीको कार्यालयका महानिर्देशकलाई जरूरी पत्र लेख्दै उक्त घोषणा गरेका इजरायली हिब्रु भाषामा प्रकाशन हुने ‘येदिओथ आहरोनोथ’ पत्रिकाले उल्लेख गरेको छ।

 

‘विश्वभर रहेका हाम्रा कार्यालयमा सुरक्षा गार्डको व्यवस्थालाई निरन्तरता दिने कुरामा विदेश मन्त्रालयले कुनै चासो नदिएपछि सबै उडानहरू अवरूद्ध गर्ने निष्कर्षमा पुगेका छौँ’, दापासको पत्रमा लेखिएको छ।

 

विदेश मन्त्रालयका महानिर्देशकले हालै उक्त कम्पनीलाई केही दिन पहिले एक पत्र लेख्दै मन्त्रालयले विदेशी विमानस्थलमा आगामी जनवरी १ देखि कुनै सुरक्षाकर्मीलाई नखटाउने जनाएको दापासले बताए। दापासका अनुसार सुरक्षा कामदारका लागि नयाँ सहमति नभएको भन्दै विमानस्थलमा सुरक्षा गार्ड उपलब्ध गराउन नसक्ने जनाइएको थियो। 

इजरायली विमान कम्पनी एल अल, अर्किया र इसराइरद्वारा उडान भर्ने देशमा रहेका विमानस्थलमा इजरायली सुरक्षाकर्मीले सम्बन्धित मुलुकको सुरक्षा अधिकारीको सहयोगीका रूपमा काम गर्दै आएका थिए।

 

विमान कम्पनीहरूले लेखेको पत्रको बोधार्थ विदेश मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु तथा यातायात मन्त्रीलाई दिइएको छ।

 

जटिल सुरक्षा प्रणालीमा गरिने कुनै पनि परिवर्तनका लागि धेरै निकायसँग विचार विमर्श गर्नु जरूरी रहेको र सरकारले झन्डै साढे दुई महिनाको समयमा उक्त निर्णय गर्न नसक्ने दापासले बताए। तर, प्रधानमन्त्रीको कार्यालयले भने उक्त विषयमा अर्थ मन्त्रालयको समन्वयपछि केही दिनमा समाधान निकाल्ने अपेक्षा गरिएको जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्