तयारीमा रहेका प्रिमियर लिग टिम मैत्रीपूर्ण खेल खेल्दै



काठमाडौंः पछिल्लो परिस्थिति र बन्द रंगशालाको अनुभव लिन प्रिमियर लिग टिमहरु अभ्यासका दौरान मैत्रीपूर्ण खेलमा ध्यान दिएका छन् ।

आफ्नो मैदानमा टिमहरुले पूरा खेल समय मिलाएर मैत्रीपूर्ण खेल खेलिरहेका हुन् । अहिले आफ्नै टिमका सदस्यहरुको दुई टिम बनाएर मैत्रीपूर्ण खेल खेलिरहेका टिमहरुले अरु टिमसँग पनि मैत्रीपूर्ण खेल खेल्न पाउने छन् ।

कोरोना भाइरस (कोभिड १९) का कारण रोकिएको इंग्लिस प्रिमियर लिग जुन १७ मा सुरु हुनुअघि क्लबहरुले मैत्रीपूर्ण खेल खेल्न पाउने भएका हुन् । स्वास्थ्य सुरक्षाका सबै उपाय अपनायर मैत्रीपूर्ण खेल खेल्न प्रिमियर लिगले क्लबहरुलाई अनुमति दिएको हो ।

क्लबहरुले प्रिमियर लिगमा खेल्नुअघि अरु क्लबसँग मैत्रीपूर्ण खेलका लागि आग्रह गरेका थिए । जुन आग्रह स्वीकार गरिएको हो । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले गएको हप्ता नै इलाभेन ए साइड खेल नै खेलेको थियो । मैत्रीपूर्ण खेलहरु मैदानमा या त अभ्यास स्थलमा नै पनि गर्न सकिने भएको छ ।

तर मैत्रीपूर्ण खेलका लागि पनि खेलाडीहरुको नियमित स्वास्थ्य परीक्षण भने आवश्यक छ । प्रिमियर लिगका खेलाडीहरु अभ्यासमा सामेल भएसँगै हप्तामा दुई पटक कोरोना भाइरसको परीक्षण गरिएको छ । जसमा १२ जनामा कोरोना संक्रमण देखिएपछि उनीहरु आइसोलेसनमा रहेका छन् ।

मैत्रीपूर्ण खेलका लागि खेलाडीहरु मैदानसम्म जाँदा आफ्नै सवारी साधनमा आफ्नो खेल सामग्रीसहित जानुपर्ने छ । उनीहरुले ९० मिनेटभन्दा लामो दुरी पार गरेर खेल्न जान पाउने छैनन् । अफिसियल रेफ्रि र लाइन्समेनको व्यवस्था हुने छैन, जुन प्रशिक्षण सदस्यबाटै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्