बागमतीमा रित्तिँदै पानीः हिजो कलकल, आज ढलैढल



काठमाडौं: बागमती नदीमा पानीको बहाव निकै घटेको विज्ञहरूले आँकलन गरेका छन्। नदीको संरक्षण नगर्नु, जमिनको पम्पिङ गर्नु, पानीका स्रोतहरू मास्नु र कंक्रिट जंगलले जमिन सिचाइँ हुन नपाउनु जस्ता कारणले बागमतीसँगै उपत्यका अन्य नदीमा पानीको बहाव घटिरहेको विज्ञहरूको ठम्याई छ। वातावरणविद् भूषण तुलाधरले बागमती छेवमा रोपिएका बिरुवाले स्याहार नपाएको र नहुर्किएकाले पनि बागमतीको अस्तित्व झन्–झन् संकटमा पर्न थालेको जानकारी दिए। यसले नदी छेउका पानी रसाउने मुहानहरू सुकाएको उनले बताए।

‘नदीतर्फ फर्काइएका ढल व्यवस्थापन गर्नतर्फ कसैको चासो छैन, यस्तै हो भने पशुपतिको अस्तित्व संकटमा पर्छ, यसलाई बचाउन सराकारले कुनै न प्रभावकारी उपाय तत्काल अवलम्बन गर्नुपर्छ,’ उनले भने। उनका अनुसार खोलानालाको लागि जमिन ट्यांकी हो। वर्षायामको पानी त्यहीँ जमिनमा भरिएर बस्छ। हिउँदको बेला मूल मुहान जस्ता स्रोतबाट पानी रसाएर नदीहरूमा बग्छ। तर, बागमती क्षेत्रमा भएका मुहानहरू सुकिसकेका छन्। सुन्दरजलदेखि नै बागमती ढलमग्न भएको छ। 

चक्रपथ सफाइअन्तर्गत नदी छेउका मोटामोटी फोहर टिपे पनि ढल तर्काउने कामतर्फ सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन। ‘त्यसै त कंक्रिटका कारणले प्रशस्त जमिनमा पानी छिर्न पाएको छैन, त्यसमा पनि मानिसले हिउँदको बेला तानेर सकाउँछन्,’ उनले थपे, ‘हामीले खाली जमिन कहीँ राखेनौं, अब त जमिन सिचाइँ हुने ठाउँसमेत भेटिन मुस्किल परेको छ उपत्यकाभित्र, यस्तै हो भने बागमतीको पानी अहिले जतिकै बग्न पनि छाड्छ।’

बागमती सरसफाइ हरेक हप्ता गरिन्छ। यसको एउटै उद्देश्य हो– बागमती स्वच्छ र सफा बनोस्। तर, नदी सफाको नाममा बाहिर फालिएका फोहर उठाउने काम मात्रै गरिएको छ। नदीलाई दूषित पार्ने ढलको व्यवस्थापन भने जस्ताको तस्तै छ। संस्कृतिविद् सत्यमोहन जोशीले २०–३० वर्षअघिसम्म स्वच्छ र सफा पानीको बहाव धेरै भएको बागमतीमा अहिले दुवै कुरा गुमिसकेको बताए। उनले सुख्खायामको बेला सामान्यतया नदीनालामा पानी कम हुने भए पनि बागमतीमा भने आश्चर्यजनक रूपमा पानी सुकिरहेको जानकारी दिए।

‘बागमतीको पानी निकै घटेको रहेछ। मैले अरु–अरुबाट पनि सुन्छु, कहिलेकाहीँ बाहिर निस्केको बेला बागमती चियाउँछु, ढलमात्रै देखिन्छ, ऊबेलाको त्यति धेरै स्वच्छ नदीलाई फोहरले डुबाएको छ,’ पुरानो बागमतीलाई स्मरण गर्दै जोशीले भने, ‘पहिले पानी बग्ने खोलामा अहिले ढल बगिररहेको छ। अहिले क्रंक्रिटको जंगललले गर्दा जमिनमुनि पानी पस्न पाएन। आकाशेपानी ह्वात्तै खोलामा मिसिने भयो। जमिनमुनिको पानी पनि तानेर सकिएको छ। यस्तो अवस्थामा बागमतीमा पानी नबग्नु स्वभाविकै हो।’

त्यसो त बागमती सरसफाइ हरेक हप्ता गरिन्छ। यसको एउटै उद्देश्य हो– बागमती स्वच्छ र सफा बनोस्। तर, नदी सफाको नाममा बाहिर फालिएका फोहर उठाउने काम मात्रै गरिएको छ। नदीलाई दूषित पार्ने ढलको व्यवस्थापन भने जस्ताको त्यस्तै छ। यसैले पनि बागमती सफाइको सार्थकता नरहेको पशुपतिनाथ मन्दिरका पुजारी केदारमान भण्डारी बताउँछन्। उनले पशुपति क्षेत्र विकास कोषले सुन्दरीजल हुँदै बगेर आउने बागमतीलाई सफा राख्नका लागि खासै चासो नदेखाएको खवर नागरिकमा छ । 

‘हामीले बागमतीमा पानी बगिरहेको ठान्छौं होला। तर, यसमा बगेको पानी होइन, यो ढल हो। नदीतर्फ फर्काइएका ढल व्यवस्थापन गर्ने हो भने थाहा हुन्छ बागमतीमा पानी कति छ भनेर,’ उनले भने। बागमतीको पानी नाप्ने र त्यसको स्वच्छ मापन गर्ने जिम्मेवारी निकाय अधिकार सम्पन्न बागमती सभ्यता विकास आयोजनाको हो।

प्रतिक्रिया दिनुहोस्