भरतपुर अस्पतालमा अलग अलग प्रवेशद्वार



चितवन: भरतपुर अस्पतालले सर्वसाधारण र कोरोना संक्रमितको उपचारमा संलग्नहरुलाई आवतजावत गर्न अलग अलग प्रवेशद्वार तयार गरेको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीका अनुसार संक्रमितलाई अस्पतालको “ए” व्लकको भूई तलामा पछाडिबाट बाटो खोलेर राखिएको छ ।

उनले स्वास्थ्य कार्यालयबाट अस्पतालतर्फ जाने बन्द रहेको ढोकालाई सञ्चालनमा ल्याइएको जानकारी दिए । कोरोना संक्रमित ल्याउन, लैजान र उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीले सोही बाटो प्रयोग गर्ने छन् ।

नयाँ प्रवेशद्वारबाट संक्रमित राखिएको स्थानमा जाने बाटो रहेको छ । संक्रमित रहेका क्षेत्रलाई हरियो जालिले घेरेर थप व्यवस्थित गर्न लागिएको छ । हाल संक्रमित राखिएको क्षेत्रलाई पूरै सिल गरिएको छ । त्यहाँ २७ जना संक्रमित रहेका छन् । संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई होटलमा क्वारेन्टिन बनाएर राखिएको छ ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार संक्रमित मध्ये अहिले २३ चितवन, वर्दघाट सुस्त पूर्वका तीन र एक जना कपिलवस्तुका रहेका छन् । अस्पतालले संचालन गरेको कोरोना विशेष अस्पताल मर्मत सम्भार गर्नुपर्ने भएपछि संक्रमित सबैलाई भरतपुर अस्पताल सारिएको छ ।

अस्पतालको हाडजोर्नी र सर्जरी विभागका बिरामीलाई स्थानान्तरण गरेर सो ठाउँमा संक्रमित राखिएको हो । उनले ठाउँमा १० श्ययाको सघन उपचार कक्षसहित ७५ श्ययाको आइसोलेशन रहेका छ । सीसी क्यामेरा, इन्टरनेट, टेलिफोनको इन्टरकम लगायतका प्रविधि जडान गरीे संक्रमित अनुगमन गरिन्छ ।

अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीले संक्रमितलाई प्रवेशद्वारदेखि उपचार क्षेत्रसम्म अलग गरिएकाले अन्य बिरामीलाई असर नपर्ने बताए । यस अस्पतालमा चितवनसहित १९ जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् ।

उनले सर्वसाधारण जनताको निः शुल्क र न्यून शुल्कमा उपचार गर्ने यस अस्पतालमा पाउने सेवालाई सुचारु गरी कोरोना सङ््क्रमितको समेत उपचार गरिएको बताए ।

राजधानीको प्रसूति गृहपछि धेरै बच्चा जन्माउने र उपचार हुने यस अस्पताल संघीय अस्पताल हो । यस अस्पतालले कोभिड–१९ प्रयोगशाला समेत सञ्चालन गर्दै आएको छ । कोरोना संक्रमितको उपचार गरी सात जना घर फर्किसकेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्