पूर्वराजाद्वारा विजया दशमीको शुभकामना



काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको उपलक्ष्यमा शुभकामना दिएका छन्। मंगलबार पूर्वराजाले एक शुभकामना सन्देश जारी गर्दै विजया दशमीको पावन अवसरमा देशभित्र र देश बाहिर रहेका सम्पूर्ण नेपालीमा शान्ति, सुख र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

 

 नेपाल राष्ट्र भन्नु नै यज्ञीय, मन्त्रीय, तन्त्रीय, वैदिक, अनुष्ठान, साधना र परम्पराले व्यष्टित रहेको र कोट, मौलो, खड्ग, छत्र, शिला, कलश, शक्तिपीठका प्रतीकका रूपमा रही नेपाली समाजमा देवी महात्म्यम् आरध्य रहेको बताउँदै उनले पछिल्लो समय हाम्रा मौलिक धर्म, संस्कृति र चाडपर्वहरू संकटमा पर्दै जानु सबै नेपालीका लागि विषद् विषय बनेको भन्दै चिन्ता पनि व्यक्त गरेका छन्। 

 

देश बनाउने सपना देखेका नेपाली राजनीतिक परिवर्तनको नाममा समेटिएका असामयिक तथा असान्दर्भिक कार्यसूचीहरूका कारणा देश कसरी बचाउने भन्ने चिन्ताजनक अवस्थामा आइपुगेको भन्दै पछिल्लो राजनीतिक अवस्थाका बारेमा चिन्ता व्यक्त गरेका छन्। 

 

पूर्वराजा शाहले आफ्नो शुभकमना सन्देशमा नेपाली- नेपालीबीचको सामाजिक सद्भाव मेट्दै तराई, पहाड र हिमाल माझको एक्यभाव तोड्ने भगिरथ प्रयत्नसमेत भइरहेको उल्लेख गरेका छन्। साथै उनले अब समीक्षा र आत्ममूल्यांकनको घडी आएको भन्दै आफैँलाई साक्षी राखेर देश र देशबासीका पक्षमा केही गर्ने प्रण गर्न राजनीतिक दलहरूलाई आग्रह समेत गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्